पर्सा प्रहरीको सिसिटिभि क्यामेरामा देखियो : यसरी भागेका छन् २ जना बाल कैदीबन्दीहरु भारततर्फ

रातोघर

 १३ आश्विन २०८०, शनिबार १६:०८  मा प्रकाशित
३३९ पाठक संख्या



वीरगञ्ज ।

वीरगञ्ज बाल सुधार गृहबाट हिजोदेखि फरार २ जना बाल कैदीबन्दीहरु अझै फेला पर्न सकेका छैनन् । सुधार गृहबाट भागेको ३४ घण्टा भन्दा बढी बितिसक्दा पनि बाल कैदीबन्दीहरु भने अझै फरारकै सूचीमा दर्ज छन् ।

प्रहरी स्रोतका अनुसार सुधाार गृहबाट भागेका बाल कैदीबन्दीहरु भारत पुगेका छन् । सुधार गृहबाट निस्केका बाल कैदीबन्दीहरु बाइपासको रेल्बे रोड हुँदै इदगाह चोक, भानुचोक र ,वीरगञ्ज भन्सार हुँदै भारततर्फ भागेको सिसिटिभि क्यामेरामा देखिएको प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जनाए ।उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा रहेको सिसिटिभि क्यामेराको कन्ट्रोल रुपमा देखिए अनुसार उनीहरु सरासर साइडको रोड हुँदै भारततर्फ भागेका छन् ।

पर्सा प्रहरी भन्छ–‘मुख्य भन्सारमा रहेको क्यामेरामा नै उनीहरु भारत भागेको देखिन्छ, त्यसकारण प्रहरी अब सिधै ‘सर्च’ अप्रेसनमा जुटेको छ । त्यहीअनुसार रणनीति पनि बनाइएको छ । सम्भवतः नतिजा पनि सकारात्मक नै आउँछ ।’

बाल कैदीबन्दीहरु भारततर्फ भागेको ‘क्लियर’ भइसकेपछि पर्सा प्रहरीले १० जनाको नेतृत्वमा विशेष टोली खटाएको छ । प्रहरी स्रोतका अनुसार सादा पोशाकमा १० जना भारततर्फ प्रहरी परिचाालित भइसकेका छन् ।

सिसिटिभि क्यामेराले यो घटनामा प्रहरीलाई धेरै सघाउ पुर्‍याएको प्रहरी तर्क छ । कारण– सिसिटिभिमा उनीहरु भागेर कहाँ जाँदैछन्, त्यो देखाइदियो । जसले प्रहरी अनुसन्धान त्यसरी नै मोडियो । नभए प्रहरी अनुसन्धानमा अझै कठिनाइ आउँथ्यो ।

प्रहरी अनुसन्धान नै अहिले सिसिटिभि क्यामेराको आधारमा चलिरहेको प्रहरी स्रोतको दाबी छ । बिर्तास्थित बाल सुधार गृहबाट छतबाट हाम फालेर शुक्रबार विहान २ जना बाल कैदीबन्दीहरु भागेका थिए ।

सर्लाही र सप्तरीका बाल कैदीबन्दीहरुमाथि कर्तव्य ज्यान र जबरजस्ती करणीको मुद्दा लागेको छ । भारत पुगेको सूचना आएपछि प्रहरीले त्यहीँ हिसाबले आफ्नो रणनीति बनाएर विशेष टोली परिचालन गरेको पर्सा प्रहरी बताउँछ । बीरगन्ज बाल सुधार गृहमा १२६ जना बाल कैदीबन्दीलाई राखिएको छ ।

Write your Comment