वीरगञ्ज ।
इन्धन लगायत दैनिक उपभोग्य वस्तुमा दिनहुँ भइरहेको मूल्यवृद्धिविरुद्ध वीरगञ्जमा जनमत पार्टीले प्रदर्शन गरेको छ ।जनमत पार्टीका युवा, विद्यार्थी र महिला नेता कार्यकर्ताले घण्टाघर चोकमा नाराबाजीसहित मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी जनमतका नेता कार्यकर्ताले मूल्यवृद्धि बन्द गर, जनताको डाढ सेक्न पाइँदैन, नेपाल सरकार खबरदार लगायतका नारा लगाएका थिए ।
प्रदर्शनपछि घण्टाघर चोकमै आयोजित कोणसभामा बोल्दै जनमत पार्टी पर्साका संयोजकमा ओमप्रकाश सर्राफले प्रचण्ड नेतृत्वको सरकार जनता मार साबित भइरहेको बताए ।
आम सर्वसाधारण जनता र मजदुरको काम नपाएर आम्दानी घट्दै गएको र युवाहरूको रोजगारी खोसिँदै गएको बेला सरकारले दैनिक उपभोग्य वस्तुमा दिनहुँ मूल्य वृद्धि गरेर जनता मारा काम गरिरहेको उनले बताए । मूल्यवृद्धि तत्काल नरोकिए जनताको साथ लिएर जनमत पार्टी सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत उनले दिए ।
प्रदर्शनमा सर्राफसँगै जनमत पार्टीका केन्द्रीय सदस्य सिपु तिवारी, पर्सा सह-संयोजक मुकेश द्विवेदी, युवा जनमत सङ्घ पर्साका संयोजक राजुराज गिरी, विद्यार्थी जनमत सङ्घ पर्साका संयोजक विवेक झा, युवा जनमत सङ्घका वीरगञ्ज महानगर संयोजक सञ्जय सिंह, विशाल गुप्ता, पवन ठाकुर लगायतको सहभागिता थियो ।
Write your Comment