वीरगञ्जका क्यासिनो : आधा पूरै अवैध, आधामा खेल नै अवैध तर सुरक्षा निकाय किन मौन ?

रातोघर

 २०८० आश्विन १९, शुक्रबार  मा प्रकाशित
७४४ पाठक संख्या


वीरगञ्ज ।

चाँडपर्व नजिक्दै जाँदा वीरगञ्जका क्यासिनोहरुमा जुवा खेल्नेहको चहलपहल बढ्दै गएको छ । स्रोतका अनुसार सुरक्षा निकाय मौन बसेपछि आन्तरिक जुवा खोल्नेहरुको संख्यामा बढोत्तरी आएको हो ।

आन्तरिक अर्थात् नेपाली ।

क्यासिनोमा खासगरी नेपालीबाहेकालाई प्रवेश पाउँने नियम छ ।तर वीरगञ्जका अधिकांश क्यासिनोहरुले भने क्यासिनो नियमावली (२०७०) लाई बेवास्ता गर्दै नियमावलीको खुलेआम धज्जी उडाइरहेको पाइएको छ ।

कतिवटा छन क्यासिनो  ?

वीरगञ्जमा चार वटा क्यासिनो अहिले सञ्चलानमा छन् । वीरगञ्जको क्लार्क रिसोर्ट, भिस्वा होटल, दियालो लर्डस र सुरज होटलमा क्यासिनो सञ्चालनमा छन् । क्लार्कमा गोल्डेन फिंगर गेमिङजोन, भिस्वामा सेन्ट्रल मिडिया गेमिङ क्लब, दियालोमा किंग्स रोयल क्यासिनोको नाममा इजाजतपत्र लिएर यी क्यासिनोहरु सञ्चालित छन् । यसैगरी सुरजमा भने फोरचुन सिटीको नाममा क्यासिनो सञ्चालित छ ।

स्रोतका अनुसार यी सबै क्यासिनोमा नेपालीहरु प्रवेश पाइरहेका छन् । नेपालीहरु प्रवेश पाउँन थालेपछि अहिले क्यासिनोमा भरिभराउँ छ, रजगज छ । जुन क्यासिनो नियमावलीविपरीत हो । तर यसको नियमन निकाय र कानुन पालना गराउँने निकाय भने मौन बसेका छन् ।

यसरी कानुन पालना गराउँने निकाय नै नियम उल्लंघन हुने गम्भीर विषयमा मौन बसेपछि यत्र,तत्र सर्वत्र प्रश्न उठिरहेको छ । यो प्रश्न नियमक निकाय मात्रै नभइ पर्साका अन्य सुरक्षा निकायका प्रमुखसंग पनि तेर्सिएको छ ।

नियमावलीविपरीत सञ्चालन

क्यासिनोमा नेपालीहरु नै बर्बाद हुँदा किन मूकदर्शक बनिरहेको छ –सुरक्षा निकाय । यो गम्भीर सवाल छ सुरक्षा निकाय सामू । किनकी, नेपालीहरुलाई प्रवेश दिने क्यासिनोलाई नियमावली अनुसार त्यसको इजाजतपत्र नै रद्द गर्ने व्यवस्था छ । तर त्यो किन भइरहेको छैन? कसको मिलोमतोमा भइरहेको छ ?यो सब गम्भीर प्रश्न खडा भइरहेको छ ।

नियमावलीमा भएको व्यवस्था अनुसार यो सब प्रमाणित गर्न सुरक्षा निकायलाई धेरै टाउँको नै दुखाइरहँनु पर्दैन् । किनकी, नियमावलीमा १६ औं नम्बरमा इजाजतप्राप्त कम्पनीहरु पालना गर्नुपर्ने शर्तमा भनिएको छ–‘क्यासिनो स्थलमा प्रवेश गर्ने प्रत्येक व्यक्तिको अनुहार प्रष्ट खिचिने गरी र सो स्थलभित्र खेल खेलेको गतिविधि देखिने गरी सि.सि.टि.भि. जडान गर्नु पर्ने, (छ) खण्ड (च) बमोजिमको सि.सि.टि.भि. को अभिलेख छ महिनासम्म सुरक्षित राख्नु पर्ने र मन्त्रालयले माग गरेमा उपलब्ध गराउनु पर्ने उल्लेख छ ।’

जानकारका अनुसा हो, यही मात्रै जाँच गरे सबै प्रष्ट हुनेछ । उनीहरु भन्छन्,–‘तर प्रहरी प्रशासनले भने यही गर्दैन । किनकी सबैको मिलोमतोमा यो भइरहेको छ ।’
खेल पनि अवैध
“क्यासिनो” भन्नाले पर्यटकको मनोरञ्जनको लागि परम्परागत रुपमा वा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट क्यासिनोस्थलमा बाजी (वेट) राखी रकम जित वा हार हुने गरी खेलिने खेल सम्झनु पर्छ ।
तर वीरगञ्जका यी सबै क्यासिनोमा भने कार्ड गेम र डेक्रेट कार्ड गेम हुने गरेको छ । जुन नियमावलीले खेलाउँन मिल्दैन ।

कारण– वीरगञ्जका क्यासिनो मिनी क्यासिनो हो, यस्ता खाले क्यासिनोमा कार्ड गेम ‘ब्यान्ड’ हो । तर स्रोतका अनुसार यहाँ भने निर्वाधरुपमा भइरहेको छ । अर्थात् तासको फ्लास र म्यारिज खेल हुने गरेको बताइन्छ ।
यो नियमावलीविपरीत नै हो । क्यासिनो नियमावली २०७६ ले तोकेको खेलहरु भन्दा बाहिरका खेलहरु भइरहेको घटना बाहिर आएपनि सुरक्षा निकाय भने मौन झै बसेको छ ।

नियमविपरीत थ्री स्टारमा क्यासिनो 

तर त्यसको बाबजुद पनि वीरगञ्जका थ्री स्टार होटलमा क्यासिनो सञ्चालनमा छन् । वीरगञ्जमा थ्री स्टारको रुपमा भिस्वा र सुरज होटल पर्छन् । जहाँ क्यासिनो नियमावलीबमोजिम खेलाउँन पाइदैन । तर यहाँ खुलेआम खेल भइरहेका छन् ।

होटल भिस्वाका म्यानेजर प्रशान्त पटेलले भने आफूहरु फोर स्टारको नभए पनि त्यसका लागि निवेदन भने दिइसकेको बताए । उनका अनुसार पहिलादेखि नै आफूहरुसंग क्यासिनो सञ्चालन गर्ने अनुमति रहेको हुनाले त्यही अनुसार सञ्चलान गरिरहेका छौं । यही विषमा प्रतिक्रिया लिन खोज्दा सुरज होटलका भने कोही सम्पर्कमा आएनन् ।

के छ नियमावलीमा ?

कसले र कहाँ खेलाउन पाउँने भनी स्पष्ट नियमावली छ । क्यासिनो नियमावली (२०७०) मा लेखिएको छ– कम्तीमा पाँचतारे होटल वा सो सरहको डिलक्स रिर्सोटको सञ्चालकले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमति, तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा कम्तीमा चार तारे होटल सञ्चालकको लिखित सहमति दिएमा खेलाउँन पाउँनेछन् । अर्थात् यो बाहेकका ठाउँमा खेलाउँन नपाउने नियमावलीले भनेको छ ।

क्यासिनो सञ्चलान गर्न प्रष्ट व्याख्या छ । तर वीरगञ्जमा भने यही नियमको पालना भएको देखिदैन । किनभने बीरगन्जमा सञ्चालित क्यासिनोका होटलहरु भने २ वटा फोरस्टार र २ वटा थ्री स्टार छन् । थ्री स्टार होटलमा क्यासिनो सञ्चालन गर्न नपाउँने नियमावली छ ।

यो बारेमा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले आफूलाई यो बारेमा जानकारी नभएको बताए । उनका अुनसार तर यो गम्भीर विषय हो, कानुनविपरीत काम गर्ने कसैलाई छुट हुनेछैन । दोषी देखि जोसुकैलाई पनि कानुनी कारबाही गरिने उनको प्रतिक्रिया छ ।

यता पर्साका प्रहरी प्रमुख कोमल शाहले अवैधानिक क्यासिनो कसैले पनि सञ्चालन गर्न नपाउँने बताए । उनका अनुसा अवैधरुपमा सञ्चालित क्यासिनोबारे छानविन गरेर सबैलाई कानुनी दायरमा ल्याइनेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban