पोखरिया बजारको अनुगमन, १० पसललाई कारबाही

रातोघर

 १९ आश्विन २०८०, शुक्रबार ११:२८  मा प्रकाशित
१८३ पाठक संख्या



वीरगञ्ज ।

पर्साको पोखरिया नगरपालिका – ४ स्थित पोखरिया बजारमा अनुगमन गरी १० वटा पसललाई कारबाही गरिएको छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवको नेतृत्वमा गठित अनुगमन समितिले पोखरिया बजारमा बिहीबार अनुगमन गर्ने क्रममा १० वटा पसललाई कारबाही गरेको हो ।

उपमेयर रुबी ठाकुरको निर्देशनमा बिहीबार खटिएको टोलीले होटेल, औषधी, कस्मेटिक, पान, फलफूल लगायतका पसलहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहीन सामान फेला परेपछि तिन वटा किराना पसल, दुई वटा होटेल, एउटा औषधी पसल, दुई वटा कस्मेटिक पसल र दुई वटा फलफूल पसललाई कारबाही गरिएको श्रीवास्तवले जानकारी दिए

म्याद गुज्रिएका र गुणस्तरहीन सामान जफत पनि गरिएको उनले बताए । कारबाहीमा परेका पसलका सञ्चालकहरूलाई शुक्रवार नगरपालिका कार्यालयमा सम्पर्क गर्न निर्देशन पनि दिइएको उनले बताए ।

अनुगमन टोलीमा पशु अस्पताल पोखरियाका प्रमुख कौशल कुमार झा, पोखरिया अस्पतालका डाक्टर सञ्जय गुप्ता, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्र, शिक्षा शाखा प्रमुख विजय कुमार झा, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह लगायतकोपनि सहभागिता थियो ।

Write your Comment