बारामा प्रहरीको अवैध रक्सी नियन्त्रण गर्ने अभियान : २२ भट्टी र डेढ लाख लिटर घरेलु मदिरा नष्ट

रातोघर

 २० आश्विन २०८०, शनिबार १३:५६  मा प्रकाशित
३५१ पाठक संख्या



वीरगञ्ज ।

बारामा तीन दिनयतादेखि प्रहरीले अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टी नष्ट गर्ने अभियान चलाएको छ ।गत बुधबारेदेखि थालिएको अभियानअन्तर्गत तीन दिनको अवधिमा प्रहरीले विभिन्न गाउँमा लुकाई छिपाइ सञ्चालित २२ वटा रक्सी भट्टी भत्काएर नष्ट गरेको छ । नष्ट गरिएका भट्टीबाट बरामद गरिएको कच्चा पदार्थ र तयारी गरी एक लाख ४१ हजार लिटर घरेलु मदिरा समेत नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

भट्टीहरूबाट घरेलु मदिरा बनाउन प्रयोग गरिने एक सय २४ थान ड्रम र १२ वटा मेशिन पनि बरामद गरिएको डिएसपी न्यौपानेले बताए ।डिएसपी न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले शुक्रवार बारागढी गाउँपालिका – ३ खोपवामा सञ्चालित दुई र वडा नम्बर २ दउरवामा सञ्चालित तीन वटा रक्सी भट्टी तोडफोड गरी नष्ट गरेको छ । त्यस क्रममा रक्सी बनाउन प्रयोग हुने ३४ वटा ड्रम, ३५ हजार लिटर कच्चा पदार्थ र ५५ हजार लिटर तयारी मदिरा समेत बरामद गरिएको थियो । बरामद मदिरा र कच्चा पदार्थलाई समेत नष्ट गरिएको उनले बताए ।

यस्तै गत बिहीबार करैयामाई गाउँपालिका – ३ गालोपट्टीमा एउटा र महागढीमाई नगरपालिका – ३ गञ्जभवानीपुरमा ९ वटा रक्सी भट्टी भत्काएर नष्ट गरिएको उनले बताए । त्यस क्रममा मदिरा बनाउन प्रयोग गरिने १४ थान ड्रम र ५ थान मेशिन बरामद गरिएको तथा कच्चा पदार्थ ५४ हजार लिटर र तयारी मदिरा २ हजार ५ सय लिटर नष्ट गरिएको न्यौपानेले बताए ।

यसै गरी गत बुधवार पचरौता नगरपालिका – ८ छपकैयामा पाँच वटा र आदर्शकोतवाल गाउँपालिका – ६ पटेर्वा गाउँमा दुई वटा रक्सी भट्टी नष्ट गरिएको उनले बताए । त्यस क्रममा रक्सी बनाउन प्रयोग गरिएको ड्रम ७६ थान र मेशिन पाँच थान बरामद गर्नुका साथै कच्चा पदार्थ ४० हजार लिटर र तयारी मदिरा पाँच हजार लिटर नष्ट गरिएको जानकारी उनले दिए ।

विशेष गरी भारतसँग खुल्ला सीमा जोडिएका जिल्लाका गाउँहरूमा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीको खोजी गर्दै नष्ट गर्ने अभियान थालेको हो ।

सीमावर्ती भारतको बिहारमा त्यहाँको सरकारले मदिराको उत्पादन, ओसार पसार , बिक्री वितरण र सेवनमा ९ वर्ष पहिलादेखि प्रतिबन्ध लगाएको थियो । जसका कारण बिहारसँग सीमा जोडिएका मधेसका जिल्लाका सीमावर्ती गाउँहरूमा घरेलु रक्सीको उत्पादन र भारतमा तस्करी हुँदै आएको छ ।

यही असोज ८ गते बाराको पचरौता नगरपालिका – १ पिपरपातीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै सञ्चालित रक्सी भट्टीमा एक पूर्व सशस्त्र प्रहरी जवानको हत्या भएपछि बारामा प्रहरीले रक्सी भट्टी नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ ।

तीन वर्षअघि २०७६ असोज १६ मा बाराकै फेटा गाउँपालिका – ४ बतरा गाउँमा अवैध रूपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीको भूमिगत ट्याङ्कीभित्र निसास्सिएर एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको थियो ।

Write your Comment