वीरगञ्ज ।
नेपालीहरूको ठूलो पर्वमध्येको एक दसैँ नजिकिँदा समेत व्यापार व्यवसाय सोचेजस्तो नहुँदा वीरगञ्जका व्यापारीहरू निराश भएका छन् । चाडबाड नजिकिँदा खचाखच भिडभाडका साथ चल्ने वीरगञ्ज पसलहरू आजभोलि सुनसान छन् ।
व्यापारीहरू पसल खोलेर ग्राहक पर्खेर बसिरहेका हुन्छन् । ग्राहक भने एक दुई जना फाट्टफुट्ट रूपमा मात्र आउने गर्दछन् । केही वर्ष अगाडि दुई तीन जनाले सामान दिन भ्याई नभ्याई हुने पसलहरूमा अहिले ग्राहक नआउँदा एक जना मात्र पसले बस्ने गरेका छन् ।
अघिल्ला वर्षहरूमा चाडबाड आउनु एक महिना अगाडिदेखि नै बजारमा मानिसहरू चहलपहल बढ्ने गरेको थियो । लामो समयदेखि आर्थिक सङ्कटका कारण उपभोक्तासँगै दैनिक ज्यालादारी, मजदुरी र व्यवसाय, उद्योग, कलकारखानामा काम गर्नेहरूको आम्दानी घट्दा व्यापार घटेको हुने सक्ने व्यापारीको अनुमान छ । दैनिक उपभोग्यका लागि नभई नहुने बस्तु बाहेक अन्य पसल जस्तै कपडा, जुत्ता चप्पल, इलेक्ट्रिक, हार्डवेयर, निर्माण, सुनचाँदीलगायतका पसलहरूको अवस्था दयनीय बनेको व्यापारी बताउँछन् ।
वीरगञ्जका पसलेहरूको दैनिकी अहिले ग्राहक कुर्दाकुर्दै बित्ने गरेको छ । चाडबाड नजिकिँदा व्यापार बढ्ने अनुमानका साथ ब्यापारीहरूले सामान्य दिनको तुलनामा बढी सामान स्टक गरे पनि बजारमा ग्राहक नै नहुँदा उनीहरूको चिन्ता थपिएको छ ।
‘गत वर्षदेखि नै बजारको अवस्था खराब छ । तर एकै पटक व्यापार पूरै चौपट नै हुन्छ भन्ने हामीले सोचेका थिएनौँ,’ घण्टाघर चोक नजिकै घडी पसल सञ्चालन गरिरहेका रबी सर्राफले भने, ‘अहिले ग्राहक कुरेरै दिन बित्छ । आएको ग्राहकले पनि अपेक्षा अनुसारको खरिद नगर्दा घर भाडा तिर्न समेत सकस हुन थालेको छ ।’
अर्को तर्फ अधिकांश ग्राहक सस्तोमा पाइने भन्ने लोभमा सीमावर्ती बजार रक्सौल तर्फ जाँदा पनि समस्या थपिएको वीरगञ्ज – ९ स्थित श्री गणेशलक्ष्मी वस्त्रालयका सञ्चालक आदित्य बरनवालले बताए । ‘ग्राहकहरू सामान खरिद गर्न भारतीय बजार रक्सौल जाँदा पनि नेपाली बजारमा व्यापार घटेको छ । जबकी त्यहाँभन्दा धेरै सस्तो र गुणस्तरीय सामग्री हामीले दिइरहेका हुन्छौँ । त्यहाँ गएर ग्राहक ठगिने मात्र हो,’ उनले भने ।
विगतका वर्षहरूमा जस्तो व्यवसाय नहुँदा व्यापारबाट पलायन हुने अवस्था आएको लामो समयदेखि फेन्सी कपडा व्यवसाय गर्दै आएका विकास रौनियारले बताए । यसैबिच व्यवसायीहरू भाग्ने क्रम पनि बढेको छ । केही समय अगाडि मात्रै वीरगञ्ज – ११ मा किराना सामग्रीको होलसेल व्यवसाय गर्दै आएका प्रद्युम्न गुप्ता आफ्नो पूरै परिवारका साथ फरार भएका छन् । स्रोतका अनुसार गुप्ता बजारबाट झन्डै ६ करोड रुपैयाँ लिएर फरार भएका छन् ।
Write your Comment