वीरगञ्ज ।
नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरू हुँदै छ। आज मध्याह्न १२ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
जनकपुरधामको महेन्द्रनारायण स्मृति भवनमा अधिवेशन आयोजना गरिएको र बिहीबार बन्दसत्र हुने एमाले मधेसका प्रचार विभाग प्रमुख अरविन्द सिंहले जानकारी दिए
‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। पार्टी अध्यक्ष ओलीले अजै नेकपा एमाले मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को शिलान्यास गर्ने छन्।
मधेस प्रदेशमा एमालेका ६६ हजार २०० पार्टी सदस्य रहेको नेकपा एमालेका सचिव एंव मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले बताए। यो अधिवेशनमा १ सय ३६ स्थानीय तहबाट १ हजार २१ जना प्रतिनिधि चुनिएर आएका छन्।
अधिवेशनले २ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ।
अध्यक्षको आकांक्षी को को छन ?
नेकपा एमालेको मधेस प्रदेशको आगामी नेतृत्वका लागि अहिलेसम्म ५ जनाले आकांक्षा राखेको एक प्रतिनिधिले बताए। उनका अनुसार पर्साका विचारी यादव, सर्लाहीका राजनारायण साह, धनुषाका लक्ष्मीनारायण यादव, राजकिशोर यादव र सिराहाका चन्देश्वर मण्डलले अध्यक्षमा दावेदारी गरेको बताइएको छ ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले लाइन दिइसकेको अवस्था छैन। मैदानमा उम्मेदवारहरूले आ(आफ्नो ढंगले तयारी गरिरहेको देखिन्छ,’ प्रदेश कमिटीका एक सदस्यले भने, ‘अध्यक्ष र महासचिवको संकेत नपाइसकेकाले उनीहरू खुलेर प्रचारमा चाहिँ लागेका छैनन्।’
प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उनी दोहोरिन पाउँदैनन्। एमालेले यसअघि नै सांसद, जनप्रतिनिधिलाई उम्मेदवार बन्न नपाउने सर्कुलर मातहत कमिटीमा पठाइसकेको छ।
प्रदेश अध्यक्षको आकांक्षीको रूपमा अहिलेका उपाध्यक्ष रेवती पन्त पनि थिए। झलनाथ खनाल प्रतिष्ठानका पूर्वअध्यक्ष रहेका उनीविरूद्ध सर्प पालनका नाममा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
बाराका पुरूषोत्तम पौडेल, सप्तरीका सुमनराज प्याकुरेलले पनि चाहना राखेका थिए। तर, उनीहरू प्रतिनिधि आएनन्।‘पोलिटब्युरो र केन्द्रीय सदस्यहरू प्रतिनिधि नआएपछि तलै प्रतिस्पर्धा हुन लागेको हो,’ अर्का एक प्रतिनिधिले भने।
Write your Comment