वीरगञ्ज ।
वीरगञ्जको पानीटंकीस्थित प्रभु अस्पतालले विविध कार्यक्रमको आयोजना गरी चौथो स्थापना दिवस मनाएको छ । ‘आफ्नो ठाउँ, हरियाली बनाउँ’ भन्ने नाराका साथ अस्पतालले विरुवा रोपेर स्थापना दिवस मनाएको हो ।
पानीटंकीस्थित प्रभु अस्पतालको चौकदेखि आमी ब्यारेकसम्म गुलमोहर प्रजातीका ६५ वटा विरुवा रोपिएको अस्पतालकी सञ्चालिका बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापाले जानकारी दिइन् । उनकाअनुसार रोपिएका ति विरुवाको रेखदेख गरी हुर्काइनेछ ।
आफ्नै गाउँलाई हराभरा बनाउनुका साथै बढ्दै गएको जलवायु परिवर्तनले गर्दा वातावरणमा पर्ने असरलाई न्यूनिकरण गर्ने अभिप्रायका साथ विरुवा रोपेर वार्षिकोत्सव मनाएको अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले बताए । बढ्दो अव्यवस्थित शहरीकरणले गर्दा जलवायु परिवर्तन हुँदा मानव जीवनको दैनिकीमा पनि प्रभाव पर्नुका साथै मानवीय स्वास्थ्यमा समेत असर पर्ने भएकाले विरुवा रोप्नुपर्ने आवश्यक्ता डा. गुप्ताले औँल्याए ।
स्थापनाको चौथो वर्षसम्म आईपुग्दा वीरगञ्ज, पर्सा मात्रै नभएर बारा, रौतहट, मकवानपुर, सीमावर्ती शहर रक्सौल, बेतिया, चम्पारण लगायतका हजारौँ सेवाग्राहीलाई सेवा दिन सफल भएको अस्पतालका व्यवस्थापक दिलिपराज कार्कीले दाबी गरे । उनकाअनुसार अस्पतालबाट ल्याप्रोस्कोपी सर्जरी सेवा पनि सूचारु गरिएको छ ।
‘युरो सम्बन्धि, पाठेघर, मृगौला लगायतका विभिन्न किसिमका शल्यक्रिया गर्दा ल्याप्रोस्कोपी विधीबाट गर्ने सेवा पनि सूचारु गर्न सफल भएका छौँ’, उनले भने । निकट भविष्यमै स्तरीय आईभिएफ सेवा सूचारु गर्ने लक्ष्यबमोजिम आवश्यक तयारी भइरहेको पनि कार्कीले जानकारी दिए । अस्पतालबाट प्रत्यक्ष रुपमा १ सय १५ जनाले रोजगारी प्राप्त गरेका छन् ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमममा बरिष्ठ डा. गोपाल गजुरेल, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाली सेनाका पर्सा प्रमुख कर्णेल डायमण्ड कार्की, सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ता, भोजपुरी गायक सुनिल पण्डित, होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य हिराबहादुर श्रेष्ठ, समाजसेवीद्वय गणेशमान श्रेष्ठ, श्याम पोखरेल, फिजिसियन डा. रबिरन्जन भट्ट, प्रहरी चौकी बसपार्कका सई नरेश बहादुर शाही लगायतको उपस्थिती रहेको थियो ।
यसअघि अस्पतालले वार्षिकोत्सवकै अवसरमा गत शनिवार वीरगञ्ज कारागारमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो रगत अभावलाई परिपूर्ती गर्ने अभिप्रायका साथ आयोजित कार्यक्रममा १ सय ६३ जनाले रक्तदान गरेका थिए ।
Write your Comment