गणपति निर्माण सेवाले उचाल्यो “वीरगञ्ज बक्स क्रिकेट लिग” को उपाधि

रातोघर

 ३० आश्विन २०८०, मंगलवार ११:३४  मा प्रकाशित
१८२ पाठक संख्या



वीरगञ्ज ।

स्पोर्ट्स हाउस नेपालद्वारा आयोजित “वीरगञ्ज बक्स क्रिकेट लिग” को उपाधि गणपति निर्माण सेवाले उचालेको छ । सोमबार सम्पन्न लिगअन्तर्गतको फाइनल खेलमा सेवन डिस्ट्रोयर्सलाई हराउँदै गणपति निर्माण सेवाले उपाधि उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको गणपति निर्माण सेवाले निर्धारित ८ ओभर खेलेर तिन विकेट गुमाउँदै ५६ रनको भीमकाय योगफल जोड्यो । जवाफी ब्याटिङमा उत्रेको सेवन डिस्ट्रोयर्सले उक्त योगफल पछ्याउन् सकेन । डिस्ट्रोयर्स निर्धारित ८ ओभरमा पाँच विकेट गुमाएर केवल ४४ रनमै खुम्चियो ।

गणपतिको तर्फबाट सन्तोष साहले सर्वाधिक ३३ रन जोडे । दुई छक्का र एक चौकाको सहयोगमा अविजित रहँदै सन्तोषले २४ बल खेलेर ३३ रन जोडे । यस्तै सन्देश गुप्ताले १० बलमा एक छक्काको सहयोगले १० रन जोडे । त्यस्तै मुकेश गुप्ताले ५, राकेश कलवारले ३ र राहुल शाहले २ रनको योगदान गरे । डिस्ट्रोयर्सले बलिङका क्रममा दिएको ३ वटा एक्स्ट्रा रनको सहयोगले गणपति निर्माण सेवाको कूल रन ५६ पुग्यो ।

सेवन डिस्ट्रोयर्सको तर्फबाट ब्याटिङ गर्न उत्रेका सुमित काद्मियाले १५ बल खेलेर एक छक्काको सहयोगमा १५ रन जोडे । त्यस्तै राजन केयालले १३ बलमा एक चौका प्रहार गर्दै ११ रन जोडे । त्यसै गरी अतुल राउतले ४, नितिन अग्रवालले ४, अङ्कित खेतानले ३ र राहुल केयालले १ रनको योगदान दिए । गणपति निर्माण सेवाले बलिङ गर्ने क्रममा दिएको ६ वटा एक्स्ट्रा रन जोडेर पनि डिस्ट्रोयर्स ४४ रनमै सीमित भयो ।

बलिङ तर्फ पनि गणपति निर्माण सेवाको प्रदर्शनी उत्कृष्ट रह्यो । गणपतिबाट राहुल शाह, सोनु गुप्ता र सन्तोष शाहले १/१ विकेट लिए । त्यस्तै सेवन डिस्ट्रोयर्सको तर्फबाट रौनक केयाल र सुमित काद्मियाले १/१ विकेट लिए ।

लिगका विजेता गणपति निर्माण सेवालाई ४० हजार रुपैयाँ नगदबाट पुरस्कृत गरियो । विजेताहरूलाई जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पुरस्कार बराबरको चेक र ट्रफी हस्तान्तरण गरे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्व वन तथा वातावरण मन्त्री यादवले खेलकुद सम्बन्धी गतिविधिलाई बढावा दिने उद्देश्यका साथ स्पोर्ट्स हाउस नेपालले आयोजना गरेको वीरगञ्ज बक्स क्रिकेट लिग जस्ता प्रतियोगिताहरूलाई निरन्तर जारी राख्न आग्रह गरे । उनले वीरगञ्जमा खेलकुदलाई प्रवर्द्धन गर्न तिनै तहको सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उपविजेता सेवन डिस्ट्रोयर्सलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले २० हजार रुपैयाँ नगदबाट पुरस्कृत गरे । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका सिंहले वीरगञ्ज महानगरपालिकाले खेलकुद विकासलाई विशेष प्राथमिकता दिएको बताए । विभिन्न प्रतियोगिता आयोजनादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागी हुने खेलाडीहरूको तालिम, पोषण लगायतका लागि पनि महानगरपालिकाले बजेट व्यवस्थापन गरेको बताए । सङ्घीय सरकारको उदासीनताका कारण वीरगञ्जस्थित नारायणी रङ्गशालाको पुनर्निर्माण नहुन सकेको भन्दै उनले दुःख व्यक्त गरे ।

त्यस्तै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले आर्थिक नगरीमा खेलकुद सम्बन्धी गतिविधि आयोजना गर्दै निरन्तर प्रतियोगिताहरू आयोजना गरेकोमा स्पोर्ट्स हाउस नेपाललाई धन्यवाद दिँदै खेलकुदको विकासका लागि सङ्घ सधैँ सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रमलाई समापन गर्दै स्पोर्ट्स हाउस नेपालकी सह-सञ्चालक आकृति अग्रवालले वीरगञ्ज बक्स क्रिकेट लिगलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहभागी टिम, खेलाडीलगायत प्रति आभार व्यक्त गरेकी थिइन् । उनले भविष्यमा क्रिकेट मात्र नभएर अन्य खेलका प्रतियोगिता पनि आयोजना गर्ने आफ्नो योजना रहेको सुनाइन ।

अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जगदम्बा सिमेन्ट्सका निर्देशक राजेश अग्रवाल, वीरगञ्ज महानगरपालिका – १० का वडाध्यक्ष सुशीलकुमार कानु, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका दुतिय उपाध्यक्ष माधव राजपाल, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश स्टार्टअप एन्ड इनोभेसन समितिका सदस्य अनुप अग्रवाललगायतको सहभागिता थियो ।वीरगञ्ज बक्स क्रिकेट लिगमा कुल १६ वटा टिमले सहभागिता जनाएका थिए । सम्पूर्ण खेलहरू वीरगञ्जस्थित वर्ल्ड अफ वन्डर्समा भएका थिए ।

Write your Comment