वीरगञ्ज : एकै दिनमा चार वटा मोटरसाइकल चोरी गर्ने पक्राउ

रातोघर

 २०८० कार्तिक ३, शुक्रबार  मा प्रकाशित
४८१ पाठक संख्या


 

वीरगञ्ज ।

दसैँको समयमा हुने चोरी नियन्त्रण गर्न प्रहरी सक्रिय देखिएको छ । दसैँमा लागेको मेला र बजार घुम्न आउनेहरूको सवारी साधन लगायतका सामग्री चोरी नियन्त्रण गर्न पर्सा प्रहरीले विशेष अप्रेसन नै चलाएको हो ।

सोही क्रममा पर्सा प्रहरीले एक जना मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटीको नेतृत्वको टोलीले बिहीबार वीरगञ्जको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका – ८ घर भई हाल वीरगञ्ज महानगरपालिका  – १६  बस्ने अजय गोसाईं रहेका छन् । गोसाईंले एक दिनमा चार वटा मोटरसाइकल चोरी गरेको इन्स्पेक्टर बोगटीले जानकारी दिए ।

वीरगञ्जमा लागेको रात्रि बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार समूहले मोटरसाइकल चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो । ‘गोसाईंको समूहले एउटा मोटरसाइकल चोरी गर्ने, त्यसलाई लगेर नारायणी अस्पतालको पार्किङमा लुकाउने अनि फेरी आएर अर्को चोरी गर्ने गरेको थियो,’ बोगटीले भने ।

प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना. २६ प ५८५३, ना ६४ ३८०६ र ना. ५४ प ४७२४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको इन्स्पेक्टर बोगटीले बताए ।

बोगटीले दसैँ, तिहार र छठ लगायतका पर्वमा चोरी लगायतका आपराधिक घटना बढ्न सक्ने बताउँदै आम सर्वसाधारणलाई सतर्क रहन सुझाव दिएका छन् । उनले शङ्कास्पद व्यक्ति वा गतिविधि देख्न साथ प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban