रुपेशमाथि गोली चलाउने समूहले ३५ दिन अगाडि मात्रै बारामा गरेको थियो अर्को हत्या

रातोघर

 २०८० कार्तिक १६, बिहिबार  मा प्रकाशित
६१० पाठक संख्या


वीरगञ्ज ।

बारा जिल्लाको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानेर हत्या गर्ने सुटर समूहको यसअघि बारामा भएका अन्य गोली प्रहार घटनामा समेत संलग्नता देखिएको छ ।

रुपेशमाथि गोली प्रहार गर्ने सुटरहरूमध्ये भारत विहार राज्यको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सुक्लहिया गाउँका सुजीत कुमार सिंह, सोही स्थान बस्ने चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनीले यसअघि पनि बाराको विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको देखिएको हो ।

सोमबार दिउँसो रुपेशमाथि गोली प्रहार गर्ने सुजीत, चञ्चल, मनिष र कामेश्वरले नै ३५ दिन अगाडि असोज ९ गतेका दिन बारा जिल्लाकै पचरौता नगरपालिका – ६ लक्ष्मनियास्थित पोखरी नजिकै भारतीय नागरिक अजित कुमार सिंहको गोली प्रहार गरी हत्या गरेका थिए । अजितको हत्या गरेर फरार रहँदै आएका उनीहरूले नै रुपेशको हत्या गरेको प्रहरीले जनाएको छ । सुजीत उक्त आपराधिक समूहका लिडर हुन् ।

बुधवार रुपेशको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले स्वयम् रुपेशको हत्या पनि सुजीत, चञ्चल, मनिष र कामेश्वरको संलग्न रहेको बताए ।

एसपी काफ्लेले बुधवार सार्वजनिक गरेको पाँच जनामध्ये कलैया – ६ मदर्शा टोल निवासी २२ वर्षीय राधा गुप्ता रुपेश हत्याको मुख्य योजनाकार भएको दाबी गरेको छ । प्रहरी अनुसन्धानका अनुसार राधाले आफ्ना अर्का प्रेमी भारतीय नागरिक मनोज गुप्तासँग योजना बनाएर रुपेशको हत्या गर्न लगाएको एसपी काफ्लेको भनाई थियो । मनोजले सुजीत समूहलाई सुपारी दिएर रुपेशलाई मार्ने लगाएको उनले बताए ।

अजित हत्याकाण्डमा समेत प्रहरीले प्रेम सम्बन्धका कारण हत्या भएको बताएको थियो । उक्त घटनामा पक्राउ परेकी भारत मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहले सुजीतसँगको प्रेम सम्बन्धका कारण उनीसँग मिलेर आफ्ना पती अजितको हत्या गर्न लगाएको प्रहरीले जनाएको थियो ।

दुवै गोली काण्डमा संलग्न रहेका सुटरहरूलाई प्रहरीले हालसम्म पनि नियन्त्रणमा लिन सकेको छैन । उनीहरू भारत भागेको प्रहरीको भनाई छ ।

सुजीत समूहले एक वर्ष अगाडि बारामा अर्का एक जनाको पनि गोली हानेर हत्या गरेको थियो । २०७९ पुस ८ मा भारतीय नागरिक  ४४ वर्षीय शिवपुजन यादवलाई पनि सुजीतको समूहले नै गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा गोली चलाएर मारेको थियो । शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजीतले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए । त्यस्तै समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको समेत हत्या गरेको थियो  ।

भारतसँग जोडिएको सिमाबाट करिब सात सय मिटर भित्र प्रवेश गरेर यसअघि हत्या गरेको सुजीत समूहले यसपटक जिल्लाको सदरमुकाम कलैयामै पुगेर दिनदहाडै रुपेशको हत्या गरेको छ । प्रहरीकै अनुसार उनीहरू दुई वटा मोटरसाइकलमा हतियारसहित भारतबाट नेपाल प्रवेश गरेका थिए । रुपेशमाथि गोली चलाएपछि उनीहरू पुन: भारत फिर्ता गएको एसपी काफ्लेले बताएका छन् ।

सिमानाकामा नेपाल प्रहरी र साश्स्त्र प्रहरीलगायतका सुरक्षा निकायको बाक्लो उपस्थिति हुँदा समेत प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुटरहरूले सहजै हतियारसहित नेपाल प्रवेश गरेर दिनदहाडै गोली चलाएर हत्या गर्नुले बारा प्रहरीको सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ ।

प्रहरीको फितलो सुरक्षा व्यवस्थाका कारण अपराधीहरू सहजै नेपाल प्रवेश गरेर घटना घटाई पुन: भारत फर्कने गरेको स्थानीयहरूको गुनासो छ । जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखका रूपमा एसपी काफ्लेले कमाण्ड सम्भालेदेखि जिल्लामा आपराधिक घटनामा समेत वृद्धि भएको छ । काफ्लेले जिल्लाको कमाण्ड सम्भालेदेखि बारामा पाँच जना भन्दा बढीको हत्या भइसकेको छ भने चोरी, लुटपाट र तस्करी जस्ता घटनामा समेत वृद्धि भएको तथ्याङ्कले देखाउँछ । प्रहरीले नियन्त्रणमा लिएको तस्करीको सामग्री प्रहरी चौकी बाटै लुटिको घटना समेत बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बुधवार पत्रकार सम्मेलनमा रुपेशको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले राधासँगै ३४ वर्षीय जमील अख्तर, २६ वर्षीय रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र २३ वर्षीय अभिनव कुमार राजपूतलाई सार्वजनिक गरेको थियो ।

झारो टार्ने प्रहरीको अनुसन्धान : रुपेशको परिवार

रुपेशको परिवारका सदस्यले युवतीसँग नाम जोडेर प्रहरीले चरित्र हत्या गरेको आरोप लगाएका छन् । बुधवार प्रहरीले गरेको पत्रकार सम्मेलन लगतै रुपेशका दुई सुबोध सर्राफले पत्रकारहरूसँग कुराकानी गर्दै प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठाएका थिए ।

सुबोधले युवतीसँगको प्रेम सम्बन्धका कारण भाइ रुपेशको हत्या भएको भन्ने प्रहरीको दाबीलाई झुटो रहेको बताए । उनले राधासँग भाइ रुपेशको कुनै सम्बन्ध नरहेको दाबी गर्दै प्रहरी र प्रशासनले चित्रण गरे जस्तो  रुपेशको चरित्र नभएको दाबी गरे ।

सुबोधले भने, ‘प्रहरीको अनुसन्धान प्रति हामीलाई चित्त नै बुझेको छैन । मेरो भाइ रुपेशको चरित्र बारे औँला उठाउने कुनै ठाउँ नै छैन ।’ प्रहरीले अनुसन्धानमा झारा टार्न रुपेश र आफ्नो परिवारको चरित्र हत्या गरेको गुनासो उनले गरे । रुपेशलाई गोली हान्ने चार जना सुटरमध्ये अहिलेसम्म एक जनालाई पनि प्रहरीले पक्राउ गर्न नसकेको कारण आफ्नो कमजोरी लुकाउन रुपेशको चरित्र हत्या गर्ने प्रयास गरिरहेको बताए ।

सुबोधका अनुसार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकोमध्ये दुई जना युवक निर्दोष छन् । उनीहरूलाई झुटो आरोपमा प्रहरीले फसाएको उनको आरोप छ । उनले भने, ‘मेरो स्कुलका दुई जना स्टाफ निर्दोष छन् । उनीहरूलाई यातना दिएर लिएको बयान गलत छ ।’

राधा आफ्नो स्कूलमा ७ महिना पहिले लेखापालमा कार्यरत रहेको स्विकार्दै गलत आचरण र गतिविधिका कारण केही समय भित्रै उनलाई जागिरबाट निकालेको सुबोधले बताए । त्यसयता राधा र रुपेशबिच कुनै सम्बन्ध नरहेको उनको भनाई थियो ।

उनले रुपेशको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना दुई जना कर्मचारीलाई समेत प्रहरीले फसाइरहेको आरोप लगाएका थिए । उनले भने, ‘मेरो मृतक भाइको नाम केटीसँगको जोडेर बदनाम नगराइयोस्, घटनाको सत्य तथ्य छानबिन गरी वास्तविक अपराधीलाई पक्राउ गरियोस् । प्रहरी हिरासतमा राखिएका मेरो स्कूलका दुई कर्मचारीलाई तत्काल रिहा गरियोस् । हाम्रो माग यही छ ।’

कलैया – ६ मदर्शा टोलस्थित बाल एकता स्कूलका प्रधानाध्यापक ३६ वर्षीय रुपेशको गत सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा सवार भई आएका चार जना बन्दुकधारीले चार राउन्ड गोली हानी हत्या गरेका थिए । उनको केही समय पछि उपचारका क्रममा मृत्यु भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन