महोत्तरीमामा डकैती, पेस्तोल देखाएर ५० लाख भन्दा बढी लुटियो

रातोघर

 २० कार्तिक २०८०, सोमबार १४:५७  मा प्रकाशित
१४६ पाठक संख्या



महोत्तरी।

महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा आइतबार राति एक घरमा डाँकाहरूको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् ।

स्थानीय जय किशोर चौधरीको घरमा आइतबार राति डेढ बजेको समयमा पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेको प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले जानकारी दिए ।

डाँकाहरूले घरधनी ५० वर्षीय जय किशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीय आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका उनले बताए । मल्लका अनुसार बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन् ।

घरको पछाडिबाट घरभित्र छिरेका उनीहरूले भित्र छिर्ने बित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै डेढदेखि दुई बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन् ।

डाँकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको एसपी मल्लले जानकारी दिए । डाँकाहरूले चौधरीको घरबाट एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बारबारको मोबाइल फोन गरी ५० लाख बढी लुटपाट गरेका पीडित चौधरीले जानकारी दिए ।

अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठ वटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको एसपी मल्लले बताए । घटनाबारे प्रहरीलाई सोमबार बिहान मात्रै जानकारी भएको बताउँदै उनले पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । थप अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरिने उनको भनाइ थियो ।

Write your Comment