मधेसमा बढ्यो अपराध, धनुषामा पेस्तोल देखाएर डाँकाहरूले लुटे लाखौँको धनमाल

रातोघर

 २०८० कार्तिक २५, शनिबार  मा प्रकाशित
४३२ पाठक संख्या


वीरगञ्ज ।

धनुषामा एक घरमा डकैती भएको छ । गए राति धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित रामकेवल महतोको घरमा डाँकाहरूको समूहले पेस्तोल देखाएर धनमालहरू लुटपाट गरेको हो ।

मध्य राति घर पछाडिको बाटोबाट प्रवेश गरी घरमा डकैती गरेको प्रहरीले जनाएको छ । पीडितको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले भने – ‘पाँच जनाको समूहमा हातहतियारसहित घरमा प्रवेश गरेको डाँका समूहले नगद, सुनचाँदीको गरगहना, मोबाइलसहितका धनमाल लुटपाट गरेको हो ।’

कार्कीले भने, ‘पुरुषलाई कोठामा थुनेर महिलाको कोठाबाट नगद र गरगहनाहरू लुटेको छ । बन्दुक देखाएर धनमाल लुटपाट गरेको भन्ने छ । बन्दुकै होला भनेर भन्न सकिँदैन ।’

डाँकाहरूलाई प्रतिकार गर्न खोज्दा ज्यान लिने भन्दै पेस्तोल ताकेर मोबाइल फोन, श्रीमतीको मङ्गलसूत्र लुटपाट गर्दै घरमा रहेको दराज, पेटी फुटाएर नगद, गरगहना डकैती गरेको पीडित महतोको भनाई छ । डाँका समूहले घरबाट नगद ५० हजार, डेढ तोला सुन, ३० तोला चाँदी र ३ सेट मोबाइल फोन लुटेर लगेको उनले बताए । पीडित महतो धन्तेरसका दिन (शुक्रवार) मात्रै महेन्द्रनगरको एक बैङ्कको एटिएमबाट नगद ३० हजार झिकेर ल्याएको बताए ।

घटनामा प्रहरीले खासै चासो नलिएको स्थानीयको आरोप छ । राति १२ बजेको घटना लगतै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराउँदा पनि राति १ बजे मात्रै आएको भन्दै उनीहरूको आक्रोश छ ।

यता इलाका प्रहरी कार्यालय भने घटनाबारे जानकारी पाएपछि डाँका समूहको खोजतलासमा जुटेको जनाएको छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban