छठ पर्व आजबाट विधिवत रुपमा शुरु,आज नहाय–खाय विधि

रातोघर

 २०८० मंसिर १, शुक्रबार  मा प्रकाशित
६७४ पाठक संख्या


वीरगञ्ज ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने छठ पर्व आजबाट विधिवत शुरु भएको छ ।

गर्ने ब्रतालुहरुले आज नुहाई धुवाई गरि चोखो नितो भएर खाने गर्छन् । यसलाई नहाय खायेके भनिन्छ । ब्रतालुहरुले आज साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात ‘रसीआव रोटी’ चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गर्ने गर्छन् ।

र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ ।

यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त रहेका छन् ।

यसैबीच छठ पर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रूपमा श्रृङ्गारिने काम भइरहेको छ । छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले वीरगन्जसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड देखिएको छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानीफल सिङ्गडा, मुला, अदुवाको बोट पर्दछन् ।

अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ ।

केही भारतीय नागरिक समेत नेपाली बजारमा छठका लागि माटोका भाँडो बिक्री गर्न आउन थालेका छन् । वीरगन्ज मुख्य चोक घण्टाघर, मिना बजार, मुर्ली बजार, रानीघाट, नगवा बजार, विन्दवासिनी बजार, बाराको जितपुर बजार, कलैया बजार, सिम्रौनगढ बजार लगायतका ठाउँमा छठमा प्रयोग हुने दउरा, छैटा, सुपली, नाङ्गलो, माटोको भाँडा लगायतका सरसामान बिक्री हुँदै आएका छन् ।

सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने प्रजापति समुदायको व्यस्तता निकै बढ्ने गरेको हुन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban