

सिमरा ।
आर्थिक मन्दीका कारण देशभर भौतिक पूर्वाधार निर्माण सुस्त हुँदा पथलैया–वीरगञ्ज औद्योेगिक करिडोरका एक दर्जन बढी सिमेन्ट र छड उद्योग बन्द भएका छन् । बन्द हुने सिमेन्ट र छड उद्योगमा केही ठूला पनि छन् । यो करिडोरमा सञ्चालनमा रहेका कृष्ण सिमेन्ट, अरनिको, स्टार, रिलायन्स, कलश, आरएमसि सिमेन्ट तथा हामा आइरन, साखः स्टिल, भगवती रोलिङ, अशोक स्टिल लगायतका ठूला–साना छड उद्योग बन्द भएका छन् । यसमध्ये केही धिपीधिपी रुपमा चलेका छन् ।
विगतमा बजारमा उच्च गुणस्तरीय रुपमा पहिचान बनाएका साखः, हिमाल, हामा, अशोक जस्ता ठूला उद्योग अहिले बन्दजस्तै भएका छन् । यो मुलुकका लागि पनि ठूलो चिन्ताको विषय हो । कोभिडलगत्तै अर्थतन्त्र सुस्त बनेको छ । यही बेला सरकारले पनि पुँजीगत खर्च बढाउन सकेको छैन । यस्तोमा भौतिक निर्माणका काम नहुँदा बजारमा सिमेन्ट र छड बिक्रीमा कमी आएको छ । सामान बिक्री नभएपछि दर्जनौं उद्योग बन्द हुन पुगेका छन् । केही उद्योग बन्द भएसरह गाह्रो गरी सञ्चालनमा छन् ।
अर्कोतिर छिमेकी मुलुक भारतमा सिमेन्ट र छड निर्यात गर्न सरकारले सहजीकरण नगरेका कारण पनि उद्योगले उत्पादन रोक्नुपरेको हो । उद्योगीहरुका अनुसार सरकारले सिमेन्ट र छड निर्यातका लागि भारतीय सरकारसँग पहल गर्न सकेको छैन । गत वर्षदेखि भारतीय पूर्वी राज्यहरुमा छड, जस्तापाता र बिहारमा सिमेन्ट निर्यात हुन थालेको थियो । जगदम्बा स्टिल, हुलास स्टिल र केही सिमेन्ट उद्योगले भारतमा निर्यात थालेका थिए । तर, अहिले सरकारले सहजीकरण नगर्दा निर्यातले गति लिन नपाएको उद्योग वाणिज्य संघ वीरगञ्जले जनाएको छ ।
‘भारत सरकारले जारी गर्ने बीआईएस सर्टिफिकेसनमा नेपाल सरकारले पहल नथाल्दा छड, सिमेन्ट निर्यात प्रक्रिया नै थला परेको छ । आन्तरिक खपत पनि ठप्पजस्तै बनेको छ,’ संघका अध्यक्ष अनिल कुमार अग्रवालले भने, ‘नेपालमै ब्रान्डिङ बनेका र देशभर राम्रो बिक्री भइरहेका छड तथा स्टिलका उद्योगसमेत बन्द हुनुको प्रमुख कारण विकास–निर्माणको काम नहुनु हो ।’
साखः स्टिलका सञ्चालक किरण साखले उद्योग बन्द भएसरह भएको बताए ।
सरकारले राजस्वका दरमा गरेको हेरफेर र अर्थतन्त्रको पछिल्लो अवस्थाका कारण उद्योग बन्दको अवस्थामा पुगेको उनले जानकारी दिए । ‘क्षमताको १०–२० प्रतिशत उद्योग चल्नु भनेको बन्द भएबराबर हो,’ उनले कारोबारसँग बुधबार भने, ‘अहिले अधिकांश उद्योगको अवस्था यस्तै हो ।’
दैनिक तीन लाख बढी बोरा सिमेन्ट उत्पादन हुने गरेकामा हाल करिडोरमा सञ्चालित एकाध सिमेन्टको उत्पादन २० प्रतिशत र छड उद्योगको ३० प्रतिशत हुने गरेको अध्यक्ष अग्रवालले जानकारी दिए । ‘सुरुमा खानीको सम्भावना देखिएन । क्लिंकर आयात गरेर उद्योग चलायौं । अब नेपालमै क्लिंकर बेस उद्योग सञ्चालन भएका छन् । तर सिमेन्टको लागत, मूल्यलगायत कारणले उद्योग चलाउन नसकेपछि बन्द गरेका हौं,’ क्याल ग्रुपको स्टार सिमेन्ट सञ्चालक राजेश क्यालले भने, ‘उद्योगमा देखिएको समस्या समाधान गर्न सरकारले विद्युतमा छुट, निर्यातमा प्रोत्साहन गर्नुको विकल्प छैन ।’
हजारौं बोरा सिमेन्ट उत्पादन गर्ने शालीमार, विश्वकर्मा, त्रिशक्ति, जगदम्बा सिमेन्ट उद्योगले समेत अर्डर आएमात्र उद्योग चलाउने र अन्य समयमा बन्द गर्ने गरेको सञ्चालकहरु बताउँछन् । ठूला उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर नेपालमै उत्पादन गरे पनि सानाले कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने तथा ठूला उद्योगसँग खरिद गर्नुपर्दा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेर करिडोरका सिमेन्ट उद्योग बन्द भएका हुन् ।
अर्कोतिर विदेशबाट आयात गरिने ब्लेडमा मात्रै उत्पादन गर्ने छड उद्योगको लागत र बिक्री मूल्य महँगो पर्ने हुँदा यस्ता स्टिलका उद्योग बन्द भएका छन् । हामा आइरन, साखः स्टिल, भगवती रोलिङ यसका उदाहरण हुन् । बिक्री ठप्प बनेपछि स्क्रयापबाट छड बनाउने अशोक स्टिलसमेत नचलेर बन्द भएको छ । साखः स्टिलका प्रबन्ध निर्देशक राजु तिमल्सिनाले स्क्रयापबाट छड बनाउने उद्योगका कारण ब्लेडबाट छड उत्पादन गर्ने उद्योग मारमा पर्दा बन्द गर्नुपरेको बताए ।
अहिले २० प्रतिशत उत्पादनमा खुम्चिएको हिमाल आइरनले कच्चा पदार्थ आफैं उत्पादन गर्ने प्लान्ट थप्न लागेको छ । स्वदेशी कच्चा पदार्थमा समेत उत्पादन गर्ने मुलुककै सर्वाधिक ठूलो जगदम्बा स्टिलको समेत बिक्री कमजोर हुँदा उत्पादन ४० प्रतिशतमा खुम्चिएको छ ।
संघका अध्यक्ष अग्रवाल सरकारले पुँजीगत खर्च नबढाएसम्म उद्योगको अवस्था झनै दयनीय हुँदै जाने बताउँछन् । चर्को ब्याजदरले बैंकको ऋण तिर्न नसक्ने अवस्था बनिसकेको भन्दै अग्रवालले उद्योगीका समस्यामा सरकारले ध्यान नदिएको गुनासो गरे । कोभिडपछि मुलुकमा देखिएको आर्थिक मन्दीका कारण पुँजीगत खर्च घट्दै जानु र अर्को कारण ठूला आयोजनाहरूको काम सुस्त गतिमा हुँदा करिडोरका निर्माणजन्य उद्योग धराशायी हुँदै गएको अग्रवालको भनाइ छ । ‘सरकारले पुँजीगत खर्च बढाएर उद्योगीलाई केही राहत नदिएसम्म मुलुकको अर्थतन्त्र सुध्रिन सक्दैन,’ अग्रवालले भने, ‘अब हामीमात्रै समस्यामा छैनौं । उद्योगीले बैंकको पैसा तिर्न सक्ने अवस्था छैन । वित्तीय संस्थामा पनि असर देखा परिसकेको छ, मजदुर कटौती व्यापक बनेको छ । यसको समाधान सरकारले नै गर्ने हो ।’
करिडोरका प्रायः सबै सिमेन्ट र छड उद्योग रुग्ण बन्न थालेपछि बैंकको अर्बौं लगानी जोखिममा परेको छ । न्यूनतम क्षमतामा बैंकलाई देखाउनकै लागि मात्रै भए पनि उद्योग चलाएको जस्तो अवस्था छ । यो करिडोरमा साना–ठूला गरेर करिब एक हजार उद्योग छन् । तीमध्ये अधिकांश आंशिक रूपमा मात्रै चलेका छन् । करिडोरमा रहेका ठूला ५ सय ६८ उद्योगमा विद्युत सप्लाइ गर्ने विद्युत प्राधिकरण सिमरा शाखाका प्रमुख रुपेश रुपाखेतीले उद्योेगमा विद्युत खपत २५ देखि ३० प्रतिशतमात्रै भएको बताए ।





Write your Comment