जेनजी आन्दोलनको प्रत्यक्ष असर, जीतपुरसिमरा उपमहानगरको राजस्व आधाभन्दा बढीले घट्यो

रातोघर

 २०८२ कार्तिक २४, सोमबार  मा प्रकाशित
२१५ पाठक संख्या


जेनजी आन्दोलनको प्रभाव आर्थिक क्षेत्रमा पनि प्रत्यक्ष देखिन थालेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको राजस्व संकलनमा यस आन्दोलनले ठूलो असर पारेको तथ्यांकले पुष्टि गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि कार्तिक १८ गतेसम्मको राजस्व विवरण हेर्दा, गत वर्षको तुलनामा आधाभन्दा कम राजस्व उठेको उपमहानगरपालिकाले जनाएको छ ।

गत वर्ष सोही अवधिमा ५ करोड ७३ लाख १३ हजार ८ रुपैयाँ राजस्व संकलन भएकोमा, यस वर्ष त्यही अवधिमा जम्मा २ करोड ३१ लाख ३ सय ५७ रुपैयाँ मात्र उठेको छ । यो राजस्व संकलनमा करिब ६० प्रतिशत गिरावट भएको स्पष्ट देखिन्छ ।

उपमहानगरपालिकाको राजस्व शाखा प्रमुख राम प्रसाद शर्मा पौडेलका अनुसार जेनजी आन्दोलनका कारण स्थानीय तहको आर्थिक गतिविधि ठप्पजस्तै हुँदा राजस्व संकलनमा ठूलो गिरावट आएको हो। उनले भने, “यो आन्दोलनले केवल स्थानीय तहमा मात्रै होइन, संघ र प्रदेश सरकारको राजस्वमा समेत प्रत्यक्ष असर पारेको छ। संघीय राजस्व घट्दा त्यसको स्वाभाविक प्रभाव स्थानीय तहमा पर्ने भएकाले हामीले पनि ठूलो राजस्व घाटा व्यहोर्नु परेको छ।”

शर्माका अनुसार, उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा भएको क्षति र पुनर्निर्माण कार्यका लागि मात्रै थप ५ करोड रुपैयाँ बराबरको आर्थिक भार बोक्नुपरेको छ। राजस्व संकलन घट्नु र पुनर्निर्माण खर्च बढ्नुका कारण चालु वर्ष उपमहानगरपालिकाले योजना अनुसारका विकास गतिविधि सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ।

विगतका वर्षहरूमा उपमहानगरपालिकाको राजस्व संकलन क्रमशः वृद्धि हुँदै आएको थियो। आ.ब.२०७९/०८० मा १२ करोड ८३ लाख ४ हजार १ सय ७० रुपैयाँ, आ.ब.२०८०/०८१ मा २० करोड ८० लाख ६३ हजार ५ सय ६२ रुपैयाँ, र आ.ब.२०८१/०८२ मा खोलाको टेन्डर लाग्न नसक्दा पनि २५ करोड ७९ लाख ६ हजार ६ सय २५ रुपैयाँ राजस्व संकलन भएको थियो।

तर, यस वर्षको सुरुवाती चार महिनामै आएको यो ठूलो गिरावटले जीतपुरसिमरा उपमहानगरपालिकाको राजस्व संकलनको लक्ष्य प्राप्तीमा चुनौती थपेको छ । स्थानीय प्रशासनका अनुसार, आन्दोलनको दीर्घकालीन असर रोक्न सरकार र सम्बन्धित निकायले तत्काल पहल नगरे उपमहानगरपालिकाको विकास योजना प्रभावित हुने निश्चित देखिन्छ ।  

Write your Comment