विद्यार्थी सङ्गठन : विद्यार्थीको हक रक्षक कि नेताको पद रक्षक?

रातोघर

 २०८२ कार्तिक २६, बुधबार  मा प्रकाशित
१५९ पाठक संख्या


काठमाडौं । कहिले काळमा विद्यार्थी सङ्गठनहरू आन्दोलन, तर्कशक्ति र आदर्शका प्रतीक थिए। विद्यार्थीका हक–अधिकारका लागि सडकमा नारा घन्काउने, अन्यायका विरुद्ध आवाज उठाउने नेतृत्व तिनकै हातमा थियो। तर आज ती नै सङ्गठनहरू पार्टीका सेनामा रूपान्तरण भइसकेका छन् — नेताका पद र प्रतिष्ठाका रक्षक बनेका छन्।

हालै २३ गते घटेको दर्दनाक घटनामा २१ जना विद्यार्थीले स्कुल ड्रेसमै ज्यान गुमाए। देशभर शोक र आक्रोश छाइरहँदा प्रधानमन्त्रीदेखि सम्बन्धित निकायसम्म जिम्मेवारी लिनबाट टाढा रहे। अझ दुःखको कुरा, कुनै ठूला विद्यार्थी सङ्गठनले आवाज उठाएनन्। जसका नाममा विद्यार्थी आन्दोलन सुरु भएको थियो, ती नै आज मौन छन्।

तर यस मौनताबीच एउटा नाम फेरि चर्चामा आएको छ — डा. सुजन कडरिया, अनेरास्ववियू (ANSFU) का अध्यक्ष। उनले प्रधानमन्त्रीकै गैरजिम्मेवार व्यवहारविरुद्ध आफ्नो पार्टीकै सरकार हुँदा पनि नैतिकताको आधारमा राजीनामा दिए। यो कदमले देशभर चर्चा पायो। तर, पार्टीले उनलाई ‘संकटको बेला भाग्ने’ भन्दै ‘भागौडा’को उपनाम दिएर विरोध अभियान चलायो।

आज डा. सुजन एमालेभित्रका कठपुतली नेताहरूका निशानामा छन्। तर उनी पुनः फिल्डमा फर्किएका छन् र स्पष्ट अडान लिएका छन् – “अनेरास्ववियूको भविष्य अनेरास्ववियूले नै तय गर्छ, अरूको कठपुतली बन्नु हुँदैन।”

विद्यार्थीको हक र संगठनको सिद्धान्तका लागि चुनावमा सानो मतले पछि परेका प्रकाश पौडेल पनि डा. सुजनको पक्षमा खुलेर उभिएका छन्। पार्टी नेतृत्वले भने दीपक धामीलाई अघि सारेको छ। यससँगै अनेरास्ववियूको संघर्ष अब केवल पदको होइन, नैतिकता र आदर्शको लडाइँ बनेको छ।

डा. सुजन, प्रकाश पौडेल र कमल जोशीहरू एकसाथ उभिएर आज यही प्रश्न गरिरहेका छन् –
“विद्यार्थी सङ्गठनहरू विद्यार्थीका लागि हुन् कि पार्टीका लागि?”
यही प्रश्नको उत्तरमै निहित छ अनेरास्ववियूको भविष्य र सम्पूर्ण विद्यार्थी आन्दोलनको गन्तव्य।

Write your Comment