मधेश मुख्यमन्त्रीको शपथ विवाद सर्वोच्चमा : आइतबार सुनुवाइ हुँदै

रातोघर

 २०८२ कार्तिक ३०, आईतबार  मा प्रकाशित
१२३ पाठक संख्या


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दर्ता भएको रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ।

रिटमाथिको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको छ। नियुक्ति र शपथ प्रक्रियासम्बन्धी अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा सुनुवाइ हुने अदालतले जनाएको छ।

हाल मधेश प्रदेशको राजनीति निरन्तर अस्थिर अवस्थामा छ। यस्तै परिस्थितिमा प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका हुन्। तर, उनको नियुक्ति र शपथ विधिपूर्ण नाघेर गरिएको भन्दै विवाद चर्किएको छ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले महोत्तरी–सिन्धुली सिमानामा पर्ने बर्दिबास–३, कालापानीस्थित पानस होटलमा पुगेर यादवलाई मुख्यमन्त्रीको शपथ खुवाएकी थिइन्। सोही ‘होटल सपथ’ घटनालाई लिएर गम्भीर राजनीतिक विवाद उत्पन्न भएको हो। यादवलाई ‘ब्याक–डेट’ मा नियुक्त गरिएको आरोप पनि रिटमा उल्लेख छ।

उक्त नियुक्ति र प्रक्रियाविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्चमा रिट दर्ता गरेका छन्। १०७ सदस्यीय प्रदेश सभामा एमाले बाहेक अरू सात दलले दुई वा दुईभन्दा बढी दलको समर्थनमा वैकल्पिक बहुमतको सरकार गठनको आह्वान हुनु पर्ने माग गर्दै आएका छन्।

होटलमा शपथ ग्रहण गरिएकाले संवैधानिक प्रक्रियामै प्रश्न उठेको भन्दै मधेशमा राजनीतिक संकट गहिरिँदै गएको छ। यता, मुख्यमन्त्री यादवले भने आफूले दबाब दिएर शपथ खुवाएको नभई प्रदेश प्रमुखले नै बर्दिबास बोलाएर शपथ ग्रहण गराएको दाबी गरेका छन्।

सर्वोच्चको आइतबारको सुनुवाइले मधेश प्रदेशको राजनीतिक द्वन्द्व आगामी दिनमा कुन दिशातर्फ मोडिन सक्छ भन्ने संकेत दिने अपेक्षा गरिएको छ।

Write your Comment