


काठमाडौं । नेपाली फुटबल लामो समयदेखि संरचनागत कमजोरी, अव्यवस्था र नेतृत्वहीनताका कारण अप्ठ्यारो मोडमा उभिएको छ। एन्फा (ANFA) को आयोजनामा खेलिने देशको शीर्ष स्तरीय सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएको करिब ९०० दिन पुग्दै गर्दा नयाँ सिजन सुरु नहुनु फुटबल क्षेत्रकै लागि चिन्ताजनक विषय बनेको छ।
नेपालमा व्यवसायिक रूपमा फुटबल खेल्ने खेलाडीहरू आफ्नो भविष्यबारे अनिश्चिततामा छन्। लिग नहुने, क्लबहरूमा लगानी घट्ने र संरचनागत सुधार नआउने अवस्थालाई देख्दै धेरै खेलाडी विदेश पलायन भइसकेका छन्। यसले फुटबलको समग्र विकासमा ठुलो असर पारेको देखिन्छ।
यता, पछिल्लो समय नेपाली क्रिकेटले भने अन्तर्राष्ट्रिय स्तरमा निरन्तर उचाइ हासिल गर्दै आएको छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा हालका क्यान सचिव पारस खड्कालाई देशमा क्रिकेटको नयाँ युग सुरु गरेको व्यक्तिमध्ये एक मानिन्छ। उनको नेतृत्व, समर्पण र दूरदृष्टिको कारण क्रिकेटमा आएको परिवर्तन प्रेरणादायी मानिन्छ।
यही पृष्ठभूमिमा फुटबलप्रेमीहरूले नेपाल फुटबलमा सक्षम, निर्णयशील र निर्भीक नेतृत्वको अभाव रहेको भन्दै सामाजिक सञ्जालमा यस्तो मन छुने टिप्पणी गर्दै आएका छन्—
“बिन्ती छ नेपाल आमा, एउटा पारस खड्का फुटबलमा पनि जन्माइदेऊ।”
यो आवाजले नेपाली फुटबलमा सुधार, नेतृत्व परिवर्तन तथा योजनाबद्ध विकासका लागि सम्बन्धित निकाय—विशेषगरी एन्फा—लाई सम्हालिन र गम्भीर कदम चाल्न आग्रह गरेको संकेत गर्छ।





Write your Comment