


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरू सार्वजनिक रूपमा उत्रन थालेका छन्। मिति घोषणा भएपछि पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा एकाएक चर्किएको देखिन्छ।
कांग्रेस महामन्त्री गगन थापाले हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रममार्फत सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्दै महाधिवेशनबाट नयाँ नेतृत्व चयनको बेला आएको बताएका छन्।
यसअघि नै संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पनि सभापतिमा उठ्ने तयारी भइसकेको स्पष्ट पारेका छन्।
पार्टीका सात पूर्वपदाधिकारीहरूको समूहले एकीकृत उम्मेदवार बनाउने प्रयास गरे पनि अझै सहमति जुटाउन सकेका छैनन्। विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतबीच निरन्तर छलफल चलिरहेको छ। यीमध्ये गच्छदार र महत बाहेक पाँच जनाले सभापतिमा उठ्ने इच्छा व्यक्त गरिसकेका छन्।
विमलेन्द्र निधिले १३औं महाधिवेशनमा तेस्रो स्थान प्राप्त गरेका थिए भने १४औं महाधिवेशनमा देउवा प्यानलमा बसेका थिए। गत महाधिवेशनमा निधि र प्रकाशमान दुवै सभापतिमा उठेका थिए। दोस्रो चरणमा देउवालाई समर्थन गरेका उनीहरूलाई देउवाले पछि मनोनित केन्द्रीय सदस्यमा समावेश गरेका थिए।
यसैबीच, अघिल्लो महाधिवेशनमा पाँचौं स्थानको २२ मत ल्याएका कल्याण गुरुङले पनि फेरि सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। प्यानल नबनाउनु विगतको गल्ती भएको भन्दै गुरुङले यसपटक प्यानलसहित प्रतिस्पर्धामा आउने बताएका छन्। ‘‘अरूलाई समर्थन गर्ने पक्षमा म छैन, उहाँहरूले साथ दिनुभयो भने सहकार्य हुन सक्छ,’’ गुरुङले बताएका छन्।
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र सभापति दौड निकै रोचक तथा प्रतिस्पर्धात्मक बन्दै गएको विश्लेषकहरू बताउँदै छन्।





Write your Comment