

वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ठाकुरराम बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै गौरवको रूपमा कायम राखिरहन सरोकारवाला सबै एक हुनुपर्ने बताएका छन् ।
बुधवार बिहान क्याम्पसले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मेयर सिंहले क्याम्पसको गौरवलाई यथावत् राख्न पठन पाठनलाई स्तरीय बनाउन जरुरी रहेको बताए ।
क्याम्पसको भौतिक संरचना मर्मत तथा निर्माणका लागि महानगर लगानी गर्न तयार रहेको भन्दै उनले त्यसका लागि क्याम्पस प्रशासनले आवश्यक योजना ल्याउन आग्रह गरे । ‘महानगर लगानी गर्न तयार छ, तर त्यसको सदुपयोग हुनु पर्यो,’ उनले भने, ‘निर्माण गरिएका संरचना दुरुपयोग हुने, तोडफोड हुने जस्ता अराजनीतिक व्यवहार हुँदैन भन्ने ठोस प्रतिबद्धता ल्याउनुस् महानगर सधैँ तयार छ ।’
कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवले आफूहरू क्याम्पसको शैक्षिक वातावरण चुस्त बनाउन लागिरहेको भन्दै त्यसका लागि महानगरको साथ अपरिहार्य रहेको बताए ।
उनले क्याम्पसका सबै प्राध्यापकहरू एक जुट भएर यहाँको शैक्षिक वातावरण सुधार्न प्रतिबद्ध रहेको भन्दै त्यसका लागि यहाँ अध्ययन गर्ने विद्यार्थी एवम् सबै राजनीतिक दल तथा सरोकारवालाहरूको सकारात्मक साथ खोजेको बताए ।
पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीले ६० वर्ष भन्दा पुरानो बिल्डिङमा अहिले क्याम्पस चलिरहेको भन्दै संरचना निर्माणमा केन्द्रबाट सहयोग हुने नदेखिएकाले महानगरको साथ खोज्नु परेको बताए । उनले भने, ‘वीरगञ्जलाई नै सफा सुन्दर बनाउने अभियानमा मेयर हिँडिरहनु भएकाले वीरगञ्जकै अधिकांश विद्यार्थीले अध्ययन गर्ने थलो र यहाँले नै पहिले अध्ययन गर्नुभएको धरोहरलाई विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
कार्यक्रममा सहायक क्याम्पस प्रमुख, अनिल रमण, विनोद प्रसाद साह, गीता श्रेष्ठ, प्राध्यापक सङ्घका डा. प्रमोद कुमार कुशवाहक, कर्मचारी सङ्घका किशोरी चौधरी लगायतको सहभागिता रहेको थियो ।





Write your Comment