सर्लाहीमा फेला पर्‍यो युवकको टाउको, पहिचान गर्ने प्रयास गर्दै प्रहरी

रातोघर

 २०८० श्रावण २५, बिहिबार  मा प्रकाशित
७६८ पाठक संख्या


सर्लाही ।

सर्लाहीमा हत्या गरिएको अवस्थामा एक जना युवकको टाउको फेला परेको छ बिहीबार बिहान साढे ८ बजे हरिवन नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको लखनदेई पुलमुनि एक युवकको टाउको फेला परेको एसपी नरेशराज सुवेदीले जानकारी दिए।

स्थानीयले शव देखेर खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो। घटनास्थलमा एसपी सुवेदीसहितको टोली खटिएको छ।अन्दाजी २२ वर्षीय युवकको पहिचान खुलेको छैन। प्रहरीले खोलामा शरीर खोजिरहेको एसपी सुवेदीले बताए। उनका अनुसार धारिलो हतियार प्रयोग गरी टाउको काटिएको अवस्थामा भेटिएको हो।

तर कसैले कतै हत्या गरी फ्याँकेको हो वा अन्तै फ्याँकेर खोलाले बगाएर त्यहाँ पुर्‍याएको हो भन्नेबारे अनुसन्धान गरिरहेको उनले बताए।सिन्धुली, मकवानपुरलगायत जिल्लाबाट बगाएर ल्याएको हुनसक्ने पनि प्रहरीको अनुमान छ।

‘तलको भाग कता छ भन्ने खुलिसकेको छैन। खोलामा शरीर खोजिरहेका छौं। टाउको हिलोमा पनि परेको छ। हिजोसम्म बाढी थियो। आज बाढी सुकेको हुनाले कतैबाट बगाएको हो कि भनेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘कसैले हत्या गरेर यहीँ ल्याएर पनि फ्याँकेको हुनसक्छ। हामीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौं।’

टाउको पुलबाट १०-१२ मिटर तल फेला परेको हो। गाडीमा आएर कसैले फ्याँकेको पनि हुनसक्ने उनले बताए। मृतकको पहिचान खुलाउने प्रहरीले प्रयास गरिरहेको छ। पहिचान गर्न अन्य जिल्ला प्रहरी कार्यालयहरूमा पनि हुलियासहित पत्राचार गरिएको उनले बताए।

‘पहिचान हुनसक्यो भने अनुसन्धान गर्न सजिलो हुन्छ भनेर त्यसलाई पनि तीव्रता दिएका छौं। हुलिया पहिचानका लागि हामीले सबैतिर परिपत्र गरिसक्यौं,’ उनले भने। प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ। पोष्टमर्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban