

बारा ।
जिल्ला प्रहरी कार्यालय बाराले गत आर्थिक वर्ष २०७९/८० मा ४ सय ४४ वटा मुद्दा फर्छयौट गरेको छ । गत आर्थिक वर्षमा दर्ता भएका जम्मा १ हजार ८ वटा मुद्दामध्ये प्रहरीले ४ सय ४४ वटा मुद्दा फर्छयौट गरेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनकाअनुसार जम्मा मुद्दामध्ये ४४ दशमलव ०४ प्रतिशत मुद्दाको टुङ्गो लगाइएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बारा प्रहरीमा दर्ता भएका जम्मा १ हजार ३७ मुद्दामध्ये ५ सय ९६ वटा फर्छयौट भएका थिए । लागूऔषध दुव्र्यसनी तथा अवैध बेचबिखन नियन्त्रण सम्बन्धी कसूरमा गत आर्थिक वर्षमा दर्ता भएका ९५ वटा मुद्दामध्ये ७७ वटा फर्छयौट भएको प्रहरी उपरीक्षक बोगटीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
ति मुद्दामा संलग्न १ सय ३८ जनालाई पक्राउ गरिएको पनि बोगटीले बताए । सोही कसूरमा अघिल्लो आर्थिक वर्षमा जम्मा भएका ७५ मध्ये ७४ वटा मुद्दा फर्छयौट गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा ५ सय ५६.४० किलोग्राम लागूऔक्षध गाँजा बरामद गरेको बारा प्रहरीले गत आर्थिक वर्षमा १ हजार ५ सय १७.५५० किलोग्राम गाँजा बरामद गरेको छ । गत आर्थिक वर्षमा ५ किलोग्राम ५ सय ग्राम चरेस बरामद गरेको प्रहरीले अघिल्लो वर्षमा २४ किलो चरेस बरामद गरेको थियो ।
गत आर्थिक वर्षमै बारा प्रहरीले २ हजार २ सय १५ जनामध्ये ४ सय ८९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जसको जम्मा कैद १ सय ७६ वर्ष ८ महिना १८ दिन हुँदा १ करोड, ५४ लाख ९३ हजार ४ सय २६ रुपैयाँ जरिवाना संकलन भएको छ ।
वन्यजन्तु तस्करीविरुद्धको कारवाहीलाई पनि प्रहरीले तिव्रता दिएको प्रहरी उपरीक्षक बोगटीको दाबी छ । उनकाअनुसार गत आर्थिक वर्षमा बारा प्रहरीले अनुमानित ३६ लाख ६२ हजार १ सय रुपैयाँ बराबरको १ हजार २ सय २१ क्युफिट सालको काठ बरामद गरिएको छ । जसमा संलग्न रहेका ९ जनालाई पक्राउ समेत गरिएको बोगटीले बताए ।
भारतसँग खुला सीमाना जोडिएको हुँदा सुरक्षाका लागि चुनौती भएपनि सीमा तस्करी नियन्त्रणमा धेरै सुधार भएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ । उनले उपलब्ध गराएको तथ्यांकअनुसार बारा प्रहरीले गत आर्थिक वर्षमा १२ करोड ६१ लख २३ हजार ९ सय ८९ रुपैयाँ बराबरको सामाग्री बरामद गरेर भन्सार चलान गरेको छ ।
तस्करीमा संलग्न १९ जनालाई पक्राउ पनि गरिएको बारा प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा २३ करोड ४३ लाख ८९ हजार २ सय ६२ रुपैयाँ बराबरको सामग्री बरामद गरिएको थियो भने ११ जना पक्राउ परेका थिए ।





Write your Comment