जथाभाबी फोहोर फ्याँक्नेमाथि वीरगञ्ज महानगरले आजदेखि सार्वजनिक मुद्दा चलाउने

रातोघर

 २०८० भाद्र १, शुक्रबार  मा प्रकाशित
३६४ पाठक संख्या


वीरगञ्ज ।

सडकमा जथाभाबी फोहोर फ्याँक्नेलाई आजदेखि वीरगञ्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।

महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमुना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभाबी फोहोर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगञ्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो ।

महानगरका सडक तथा गल्लीमा जथाभाबी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुद्दीन मियाँले बताए ।

“जथाभाबी फोहर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहोर फाल्ने क्रम रोकिएको छैन”, उनले भने, “जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहर फाल्नेलाई जरिवाना मात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ ।”

सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभाबी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले १७ लाख ५४ हजार रुपैयाँ जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा जरिवानाबाट १५ लाख ३६ हजार रुपैयाँ तथा चालु आव २०८०/८१ को साउनमा जरिवानाबापत दुई लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

“घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने स्थानीयमा प्रवृत्ति छ”, उनले भने, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नम्बर १ देखि ३२ वटै वडामा वीरगञ्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६ जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ भइरहेको छ । नालाको सरसफाइ महानगर आफैँले गर्छ भने सडकको सरसफाइ साझेदार संस्था पृथी तारा एनके इन्टरनेशन जेभीले गरिरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban