करेन्ट लागेर पर्सामा बालिकाको मृत्यु, विद्युत् प्राधिकरणले लापरबाही गरेको स्थानीयको आरोप

रातोघर

 २०८० भाद्र १०, आईतबार  मा प्रकाशित
५५३ पाठक संख्या


वीरगञ्ज ।

पर्साको पकाहामैनपुर गाउँपालिकामा विद्युतीय पोलमा टाँसिएर एक बालिकाले ज्यान गुमाएकी छन् । पकाहामैनपुर गाउँपालिका –१ धोरेमा विद्युत् टोलमा टाँसिँदा करेन्ट लागेर सोही स्थानका इसाम मियाँकी ६ वर्षीय छोरी साहुल खातुनले ज्यान गुमाएकी हुन् ।

प्रहरी चौकी धोरेका प्रहरी सहायक निरीक्षक (असई) श्रीप्रसाद यादवका अनुसार शनिवार बिहान १० बजेको करिबमा विद्युत् विस्तारका लागि गाडिएको पोलमा अचानक विद्युत् प्रवाह भएपछि त्यसमा टाँसिएर बालिकाको ज्यान गएको थियो ।

बालिकाको ज्यान जानुमा स्थानीयहरूले नेपाल विद्युत् प्राधिकरणको दोष देखाएका छन् । उनीहरूका अनुसार नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण शाखाले विद्युत् प्रवाह भइरहेको नाङ्गो तारसहितको पोलमा इन्सुलेटर जडान नगरेको कारण पानी परेको बेला पुरै पोलमा विद्युत् प्रवाह हुँदा झुकिएर त्यसमा टाँसिएकी बालिकाले अनाहकमा ज्यान गुमाएकी हुन् । पोलमा टाँसिएकी बालिकाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीहरूको भनाई छ ।

‘लामो समयदेखि विद्युतीय पोलहरूमा प्राधिकरणले इन्सुलेटर जडान गरेको छैन । इन्सुलेटर नहुँदा वर्षाको समयमा पानीले भिजेको पोलमा विद्युत् प्रवाह हुँदा त्यसमा झुक्किएर टाँसिएकी एक अबोध बालिकाले ज्यान गुमाएकी छन्,’ एक स्थानीयले यात्राडेलीलाई भने । लामो समयदेखि इन्सुलेटर जडान गर्दै जीर्ण भइसकेका पोलहरूलाई मर्मत गर्न प्राधिकरणलाई अनुरोध गरे पनि सुनुवाइ नभएको उनले आरोप समेत लगाए ।

उनले घटना हुनुमा विद्युत् प्राधिकरणसँगै गाउँपालिका कार्यालय पनि दोषी रहेको बताए । धोरे गाउँमा अन्य धेरै पोलहरूमा पनि इन्सुलेटर नभएको उनको भनाई छ । ‘अधिकांश पोलहरू पुरानो हुँदा जीर्ण भइसकेका छन् । त्यसमा नाङ्गो तार भएका पोलहरूमा प्राधिकरणले इन्सुलेटर पनि जडान नगर्दा गाउँमा ठूलो दुर्घटना हुनसक्ने सम्भावना छ,’ उनले भने ।

स्थानीयहरूले विद्युत् प्राधिकरणले घटनाको जिम्मा लिँदै बालिकाको परिवारलाई आवश्यक क्षतिपूर्तिसमेत दिनु पर्ने माग गरेका छन् । विद्युत् प्राधिकरणको जिम्मेवार कर्मचारीलाई कारबाही गर्नुपर्ने अर्का एक स्थानीयले माग गरे ।

यता नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रका शाखा प्रमुख जगरनाथ झाले बालिकाको मृत्यु हुनुमा विद्युत् प्राधिकरणको कुनै दोष नभएको बताए । पोलमा नजिक रहेको बासले धक्का दिँदा गए राति मात्रै त्यसमा जडान गरिएको इन्सुलेटर फुटेको कारण दुर्घटना भएको उनको कथन छ । ‘इन्सुलेटर फुटेको छ भन्ने हामीलाई कुनै जानकारी नै थिएन । अहिले जानकारी पाउन साथ नयाँ जडान गराइएको छ,’ उनले भने ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban