पचरौता – ५ का वडाध्यक्ष लक्ष्मी यादवले नागरिकताको सिफारिस गर्न ४० हजार घुस मागेको आरोप

रातोघर

 २०८० भाद्र १०, आईतबार  मा प्रकाशित
३३३ पाठक संख्या


बारा ।

बाराको पचरौता नगरपालिकाका एक जना वडाध्यक्षमाथि नागरिकता बनाउन सिफारिस गर्न घुस मागेको आरोप लागेको छ ।पचरौता नगरपालिका – ५  का वडाध्यक्ष लक्ष्मी यादवले सोही स्थानमा मोसाहेव मियाँ अन्सारीसँग उनका छोराहरूको नागरिकता बनाउनका निमित्त वडा कार्यालयबाट हुने सिफारिस गरी दिनका निमित्त घुस मागेको आरोप लागेको हो ।

पीडित भनिएका अन्सारीले शनिवार काठमाडौँस्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै वडाध्यक्ष यादवले आफूसँग नागरिकता बनाउन सिफारिस गर्न ४० हजार रुपैयाँ घुस मागेको आरोप लगाए ।अन्सारीका अनुसार गत असार २९ गते छोराहरूको नागरिकता बनाउनका लागि सिफारिस लिन गएको बेला वडाध्यक्षले घुस माग गरेका थिए ।

आफ्नो जन्मको आधारमा नागरिकता रहेको बताउँदै यसअघि पनि वडाध्यक्ष यादवले आफूसँग पटक पटका गरी ३८ हजार रुपैयाँ घुस लिएको उनले आरोप लगाए । ‘श्रीमतीको नागरिकता बनाउन जाँदा पनि वडाध्यक्ष यादवले तिम्रो जन्मको आधारमा नागरिकता छ भन्दै मसँग दुई पटक गरेर ३८ हजार रुपैयाँ लिएका थिए,’ उनले भने । वडाध्यक्षलाई घुस नदिएसम्म वडा कार्यालयबाट नागरिकताको सिफारिस नै नहुने उनको भनाई छ ।

श्रीमतीको नागरिकताको सिफारिस गराउन आफूले बुहारीको गहना बेचेर वडाध्यक्षलाई घुसको रकम बुझाएको अन्सारीले भने । घुस रकम दिएपछि श्रीमतीको नागरिकताको लागि सिफारिस बनाइदिएको उनको दाबी छ । दुई भाइ छोराको नागरिकता बनाउन सिफारिस लिन जाँदा तीन दिनसम्म फाइल अड्काएर पैसा मागेको र ‘अहिले पैसा छैन, कमाएर दिन्छु’ भन्दा वडाध्यक्ष यादवले फाइल च्यातिदिएको उनले दुखेसो पोखे ।

पत्रकार सम्मेलनका क्रममा अन्सारीले आफ्नो र श्रीमतीको नागरिकता प्रमाणपत्र पनि देखाएका थिए । त्यसका साथै उनले आफूलाई पचरौता – ५ को स्थानीय बासिन्दा प्रमाणित गर्न जग्गा धनी प्रमाण पुर्जाको सक्कल कापी पनि देखाएका थिए ।

संविधानले नि:शुल्क रूपमा उपलब्ध गराएको नागरिकता पाउने अधिकारका लागि आफूले घुस नदिएर बरु फाँसी लगाएर मर्ने बताउँदै उनले थपे, ‘मेरो श्रीमतीको नागरिकता बनिसक्यो । मेरो भाइको नाममा जमिन छ, हामी एकै ठाउँमा बसेका छौँ । छुट्टै छैनौँ । छोराको स्कुलको प्रमाणपत्र पनि छ । नागरिकता बनाउन दिने पैसा मसँग छैन । नबनेपछि फाँसी लगाएर मर्छु ।’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban