

वीरगञ्ज ।
वीरगञ्जमा साहिब दरबार नामक संस्थाको आयोजनामा सम्पन्न नि:शुल्क आँखा जाँच शिविरबाट ३ सय ४१ जना विद्यार्थीले लाभ लिएका छन् ।माईस्थान विद्यापीठ उच्च माध्यमिक विद्यालयमा सोमबार आयोजित नि:शुल्क आँखा जाँच शिविरमा ३४१ जना विद्यार्थीको आँखा जाँच गरिएको हो ।
विगत केही समय यतादेखि आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएकाले त्यसलाई नियन्त्रण गर्न साहिब दरबारले नि:शुल्क शिविर सञ्चालन गर्दै आएको छ ।
सोमबार साहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ३ सय ४१ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।
आँखा जाँच गरिएका विद्यार्थी मध्ये २० प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या (आई फ्लु) भेटिएको र त्यो नियन्त्रणको क्रममा देखिएको सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।
यस्तै जाँच गरिएकामध्ये ५३ जना विद्यार्थीमा भने दृष्टि दोषको समस्या देखिएको पनि उनले बताए । आँखा पाक्ने समस्या देखिएका विद्यार्थीलाई शिविरमा नि:शुल्क औषधी समेत उपलब्ध गराइएको शिविरमा खटिएका दृष्टि विशेषज्ञ अञ्जली मेहताले जानकारी दिइन् ।
साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा महानगरका विभिन्न विद्यालयमा आँखा जाँच शिविर सञ्चालन भइरहेको छ । आगामी मङ्गलवार पनि त्यही विद्यालयमा शिविर सञ्चालन हुने साहिब दरबारका अध्यक्ष सहनीले जानकारी दिए ।
सोमबार सम्पन्न शिविरमा साहिब दरबारका प्रेरणा श्रेष्ठ, सुरज गुप्ता, रमितामाया गुप्ता, अवधेस यादव, हफिज मियाँ लगायतको समेत उपस्थिति रहेको थियो ।





Write your Comment