वीरगञ्जमा चिनियाँ राजदूतविरुद्ध प्रदर्शन, लाग्यो गो ब्याक चाइनाको नारा

रातोघर

 २०८० भाद्र २३, शनिबार  मा प्रकाशित
३११ पाठक संख्या


वीरगञ्ज ।

नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूत  चेन सोङले कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले विरोध प्रदर्शन गरेको छ । उनलाई कारबाही गर्नुपर्ने मागसहित लोसपाले शुक्रवार वीरगञ्जमा विरोध प्रदर्शन गरेको हो ।

नेपाल र भारतबिचको सम्बन्ध प्रति चिनियाँ राजदूतले दिएको अभिव्यक्ति नेपालप्रतिको हेपाहा प्रवृत्ति भएको र कुनै पनि दुई देशको आपसी कुरामा अन्य कुनै मुलुकले यसरी बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको बताउँदै उनीमाथि कारबाही गर्नुपर्ने लोसपाका धारणा छ ।

वीरगञ्जको घण्टाघरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता सन्तोष तिवारीले मर्यादा विपरीत अभिव्यक्ति दिने चिनियाँ राजदूतसँग सरकारले स्पष्टीकरण सोधेर उनलाई फिर्ता पठाउन चिन सरकारसँग समन्वय गर्नुपर्ने माग गरे ।

त्यस्तै लोसपा वीरगञ्ज महानगरका अध्यक्ष शेख फिरोजले चिनियाँ राजदूतले पटक-पटक आफ्नो मर्यादाको उलङ्घन गर्दै अभिव्यक्ति दिएको बताए । उनले भने ‘कहिले एमसिसी, कहिले ऊर्जा त कहिले नेपाल भारतबिचको सांस्कृतिक सम्बन्ध बारेमा अनावश्यक टिप्पणी गर्ने चिनियाँ राजदूतले नेपालप्रति हेपाहा प्रवृत्ति राख्दै आएका छन् ।’

नेपालको भारतसँग राजनीतिक सम्बन्ध मात्र नभई सांस्कृतिक, पारिवारिक र धार्मिक सम्बन्ध रहेको र त्यस्तै चीनसँग पनि सम्बन्ध रहेकोले दुवै देशको सम्बन्ध माथि असर पर्ने किसिमको टिप्पणी गर्नु गलत भएको फिरोजको भनाई छ ।

कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरूले ‘भारत नेपाल सम्बन्ध अमर रहोस्’, ‘गो ब्याक चाइना’ जस्ता प्ला कार्ड बोकेर नाराबाजीसमेत लगेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban