सर्लाहीको मलंगवामा कर्फ्यु हट्यो तर बजार सुनशान

रातोघर

 २०८० भाद्र २४, आईतबार  मा प्रकाशित
३४८ पाठक संख्या


 सर्लाही ।

सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा भने जारी छ ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो ।

स्थिति सामान्य भएको निष्कर्ष निकाल्दै आज बिहानबाट कर्फ्यु हटाइएको तर २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।कर्फ्यु हटेपनि मानिसहरुको चहलपहल बढ्न सकेको छैन ।

लामो तथा छोटो दुरीका यातायातका साधन संचालन गर्ने बिषयमा स्थानीय प्रशासनसँग व्यवसायीले छलफल गरिरहेको बताइएको छ ।जिल्ला सुरक्षा समितिको बैठकले धार्मिक, जातीय र सांस्कृतिक कायम राख्न सबैलाई आह्वान गरेको छ ।

गएको शुक्रबार कृष्ण जन्माष्टमीको मुर्ति सेलाएर फर्किंदै गरेको समूहमाथि मलंगवा ९ हनुमान चोकमा केही उच्छृंखल व्यक्तिहरुले आक्रमण गरेपछि मलंगवा अशान्त बनेको हो।स्रोतका अनुसार सोही निउँमा आफूलाई हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष बताउँने कृष्ण यादवको नेतृत्वमा केही व्यक्तिले साम्प्रदायिक सद्भाव भड्काउने प्रयास गरेका थिए।

प्रहरीले त्यतिबेलै यादवसहित साम्प्रदायिक सद्भाव विपरितका गतिविधिमा संलगन भएको आरोपमा चारजनालाई पक्राउ परेको थियो। यादवसहितका चार व्यक्ति अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा छन्।आज बिहान यादव समर्थक केही व्यक्तिसँग स्थानीय प्रशासनले छलफल गरेको छ।

छलफलमा यादव पक्षका मानिसहरुले पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। प्रहरीले यादवलाई रिहा गर्ने तयारी गरेको छ।


Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban