वीरगञ्जको पान गल्लीमा एक पुरुषको शङ्कास्पद अवस्थामा शव फेला

रातोघर

 २०८० आश्विन ४, बिहिबार  मा प्रकाशित
३९८ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जमा फेरी शङ्कास्पद अवस्थामा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले एउटा सूचना जारी गर्दै वीरगञ्ज – ९ पान गल्लीमा एउटा पुरुषको शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार मङ्गलवार साँझ साढे ७ बजेको करिबमा पान गल्लीमा एउटा ठेला गाडामा सुतिरहेको अवस्थामा सर्लाही कौडेना गाउँपालिका – ३ निवासी अन्दाजी ५० वर्षीय भुब्रो महतो नुनियाको शव फेला भएको हो । नुनिया लामो समयदेखि वीरगञ्जमा ठेला गाडा चलाउँदै आएको प्रहरीले जनाएको छ ।

स्थानीयहरूले नुनियाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

यसअघि मङ्गलवार नै वीरगञ्ज – ३ छपकैयामा पनि एक बेवारिसे पुरुषको शव फेला परेको थियो । अर्धनग्न अवस्थामा मृत फेला परेका पुरुषको पहिचान अहिलेसम्म पनि हुन सकेको छैन ।

उनको शरीरमा कुनै किसिमको चोटपटक नलागेकोले अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशङ्का छ । उनको शव पनि पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको डिएसपी थापाले बताए । उनको मृत्युको विषयमा पनि अनुसन्धान जारी रहेको डिएसपी थापाले बताए ।

यद्यपि एकै दिनमा दुई वटा व्यक्तिको शव फेला पर्नुले विभिन्न आशङ्का उत्पन्न गरेको छ । फेला परेका शवको मृत्युको प्रकृति पनि उस्तै रहेकोले यसले थप शङ्का उत्पन्न गरेको स्थानीयहरूको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban