

वीरगञ्ज ।
मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्षको दोस्रो महिनामा पनि लक्ष्य अनुसारको राजश्व सङ्कलनमा असफल भएको छ ।वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको विवरणअनुसार वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा लक्ष्य अनुसारको राजश्व सङ्कलनमा असफल भएको हो ।
भन्सार विभागले वीरगञ्ज भन्सारलाई भदौ महिनाको लागि १९ अर्ब, ३८ करोड, ६ लाख ७० हजार रुपैयाँको लक्ष्य दिएकोमा उसले भदौमा जम्मा १२ अर्ब, ७१ करोड, २२ लाख २५ हजार रुपैयाँ राजश्व मात्र सङ्कलन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको भदौ महिनाको भन्दा पनि कम हो ।
अघिल्लो आर्थिक वर्षको भदौ महिनामा भन्सार कार्यालय १४ अर्ब, १४ करोड, २५ लाख १३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । त्यो पनि लक्ष्य भन्दा कम नै हो । भदौमा वीरगञ्ज भन्सार कार्यालयले मूल्य अभिवृद्धि करबाट सबैभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
उसले मूल्य अभिवृद्धि करबाट ५ अर्ब, ४२ करोड, ३६ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ । त्यसरी नै आयातबाट ४ अर्ब, ८४ करोड, ६५ लाख २० हजार राजश्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
यसरी नै कार्यालयले अन्तःशुल्कबाट एक अर्ब, एक करोड, ७६ लाख ५८ हजार राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षमा पनि वीरगञ्ज नाकाबाट आयात हुने विभिन्न बस्तुहरूमा कमी आएकाले पनि राजश्व सङ्कलन लक्ष्य अनुसार हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरूले दाबी गरेका छन् । वीरगञ्ज भन्सार गएको महिना साउनसहित गएको आर्थिक वर्षमा नै लक्ष्य अनुसारको राजश्व सङ्कलनमा असफल भएको थियो ।





Write your Comment