मलङ्गवामा पाँचौँ दिन पनि कर्फ्यु जारी, सर्वपक्षीय बैठक बस्दै

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
४०२ पाठक संख्या


सर्लाही।

सर्लाहीको सदरमुकाम मलङ्गवामा आज पाँचौँ दिन पनि कर्फ्यु जारी छ । बिहीबार भगवान् गणेशको मूर्ति सेलाउने क्रममा दुई समुदायबिच भएको विवाद र झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन सोही दिन राती १० बजेदेखि लागू गरेको अनिश्चितकालीन कर्फ्यु आज पाँचौँ दिन पनि जारी रहेको छ ।

कर्फ्यु लागे पनि मलङ्गवामा स्थिति भने सामान्य हुन सकेको छैन । नगरका विभिन्न स्थानमा कर्फ्युकाबिच नै प्रदर्शनहरू भइरहेका छन् । विवाद भएको दुवै समुदायबिच पूर्णतया तनावको स्थिति छ भने अप्रिय घटना हुनसक्ने त्रासमा स्थानीय बाँची रहेका छन् ।

आइतबार मात्रै मलङ्गवामा तनाव बढेपछि प्रहरीलाई शक्ति प्रयोग गर्नु परेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार विभिन्न स्थानमा कर्फ्यु तोडेर स्थानीयहरूले प्रदर्शन गरेपछि ३२ राउन्ड अश्रुग्याँस प्रहार गरिएको थियो । प्रहरीले हालसम्म कर्फ्यु तोडेर प्रदर्शन गर्ने २० जनालाई नियन्त्रणमा समेत लिएको सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्र  पञ्जियारले जानकारी दिए ।

कर्फ्यु सम्बन्धमा छलफल गर्न आज सोमबार बिहान जिल्ला प्रशासन कार्यालय सर्लाहीले सर्वपक्षीय बैठक बोलाइएको छ । बैठकले कर्फ्युलाई निरन्तरता दिने वा खुकुलो पार्ने सम्बन्धमा आवश्यक निर्णय गर्न सक्ने सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

पाँच दिनदेखिको निरन्तरको कर्फ्युले मलङ्गवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ । कर्फ्युको कारण मलङ्गवा विगत पाँच दिनदेखि सुनसान छ ।

‘बिहान साढे आठ बजे जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्दै छ । त्यो बैठकमा कर्फ्युलाई निरन्तरता दिने कि फरक दङ्गले जाने भन्ने निर्णय हुने सम्भावना छ,’ सहायक सिडिओ घिमिरेले भने, ‘शान्ति सुरक्षालाई थप कडाइ गर्ने तर, कर्फ्यु हटाउने हो कि भन्ने ढङ्गले हामी सोचिरहेका छौँ ।’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban