

वीरगञ्ज ।
वीरगञ्जमा केही दिन यता दुई फरक धर्मका समुदायबिच बढ्दो तनावलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाले आज सोमबार “सद्भाव र्याली” निकाल्ने भएको छ ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आइतबार एक सूचना जारी गर्दै सोमबार वीरगञ्जमा “सद्भाव र्याली” आयोजना गर्न लागिएको जनाएका छन् ।
वीरगञ्ज महानगरले स्थानीय युवाहरूसँगको सहकार्यमा आयोजना गर्न लागेको र्यालीमा सम्पूर्ण वीरगञ्जवासीसहित महानगरका कर्मचारीहरूलाई अनिवार्य रूपमा सहभागी हुन् अपिल गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले जारी गरेको सूचनामा महानगरका सम्पूर्ण कर्मचारीलाई पोसाकमा अनिवार्य सहभागी र्यालीमा सहभागी हुन् निर्देशन समेत दिएका छन् ।
वीरगञ्जको आदर्शनगरस्थित स्विमिङ पुल परिसरबाट सोमबार बिहान ११ बजे निस्किने र्यालीले नगरको परिक्रममा गर्ने बताइएको छ ।वीरगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्याली आयोजना गर्न लागिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए । नगरमा रहेको हिन्दू र मुस्लिम समुदायबिच कुनै किसिमको द्वेष नरहेको सन्देश दिनका निमित्त “सद्भाव र्याली” निकालिन लागिएको यादवले बताए ।
स्विमिङ पुलबाट सुरु भएको र्यालीले नगर परिक्रमा गरेपछि पर्साका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको यादवले बताए ।
यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय पर्समा आइतबार बसेको सर्वपक्षीय बैठकमा वीरगञ्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुर्याउने खालका धार्मिक एवम् सामुदायिक प्रकारका र्याली, जुलुस, प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनै पनि समुदाय र सङ्घसंस्थाले नगर्ने सहमति गरिएको थियो ।
सर्लाहीको मलङ्गवामा बिहीबार राती दुई समूहबिच भगवान् गणेशको मूर्ति सेलाउने क्रममा भएको विवाद र झडपपछि वीरगञ्जमा समेत सोही किसिमको झडप गर्न खोजिएको भन्दै यहाँका जनप्रतिनिधिदेखि नागरिक समाजका अगुवासम्मले सचेत रहन आग्रह गरेका छन् ।






Write your Comment