वीरगञ्ज ‘ब्लड बैंक’ : जहाँबाट ९ वर्षमा १ लाख ४ हजार ४२२ जनाले लिए रगत

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
२४६ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्ज १३ की ४० वर्षीय सुशिला मण्डल रक्तसञ्चार केन्द्र वीरगञ्ज ‘ब्लड बैंक’ मा लाइनमा उभिइरहेकी थिइन् । जहाँ उनी निकै तनाव मुद्रामा देखिन्थिन् ।आफ्नो पालो कुरेर बसिरहेकी थिइन् । किनकी,उनको बच्चालाई खाँचो थियो–एक यूनिट रगतको ।त्यही एक यूनिट रगतका लागि उनी आफ्नो पालोको व्यग्र प्रतिक्षामा थिइन । छिटो पालो आइदिए हुन्थ्यो भन्ने मनमा लागेपनि पालो कुर्नुको विकल्प उनीसँग थिएन ।

थालेसिमिया नामक गम्भीर प्रकृतिको रोग उनको ५ वर्षीया छोरालाई लागेको छ । यो रोगमा रगत चढाउनुपर्ने भएकोले रक्तसञ्चार केन्द्रमा हरेक महिना पुग्नुपर्ने उनको तालिका झै बनेको छ ।

रगत लिन लाइनमा बस्नेहरुको भीडको बीचमा उनी निकै मलिन अनुहारमा छोराको जीवन बचाउने संघर्षका साथ उभिइरहेकी हुन्छिन् ।उनमा कतिखेर पालो आउछ ? र रगत लिएर छोराको जीवन पुनः एक महिना बचाऊँ भन्ने छटपटी देखिन्थ्यो । कारण– एकपटक रगत चढाएपछि अर्को ३० दिनसम्म छोरा केही नहुने चिकित्सकहरुको सुझाव जो छ ।

यही आसामा साँस दिएर ९ महिनासम्म कोखँमा राखेकी आमाले पुनः रगतको व्यवस्थापन गरेर छोरोलाई सास भर्ने काम गरिरहेकी छन् । जसबाट उनलाई लाग्दछ– एक दिन पक्कै छोरो स्वस्थ हुन्छ र मेरो सब थकान मेटिन्छ ।

यो सब सुनाइरहँदा मण्डलको अनुहार रातो मात्रै भएको थिएन गहभरि आँसु छल्किरहेको थियो । आँखाबाट आँसु झर्नमात्रै बाँकी रहँदा रगत लिने पालो उनको आइपुग्यो अनि खुसी हुँदै रगत लिएर गइन ।

मण्डल जस्तै बाराको राजघाट निवासी श्याम चौधरीको पनि समस्या उस्तै छ । उनी आफ्नो छोराको लागी रक्तसञ्चार केन्द्रमा गरहन्छन् । निमुनियाले ग्रसित छोराको उपचारका लागि रगत चाहिने भएकाले उनीहरु रक्तसञ्चार केन्द्रमा पुगिरहनुपर्ने सुनाउँछन् ।

रगतका लागि वीरगञ्जकी मण्डल र बाराको चौधरी मात्रै होइन अरु पनि पुग्छन् । यो संख्या धेरै लामै छ । ब्लड बैंकका अनुसार दैनिक ७० जनाको हाराहारीमा रगत खपत हुन्छ। अर्थात् ७० जनाको अनुपतामा ब्लड बैंकबाट हरेकदिन रगत जान्छ ।

ब्लड बैंकबाट पछिल्ला ९ वर्षमा मात्रै १ लाख भन्दा बढीलाई रगत दिइएको छ । अर्थात् १ लाख जनको ‘सास’मा सास भर्ने कार्य भएको छ ।
आर्थिक वर्ष ०७१÷०७२ देखि ०७९÷०८० सम्मको तथ्यांक हेर्ने हो भने बीरगन्ज ब्लड बैंकबाट १ लाख ४ हजार ४२२ जनाले रगत लिएका छन् । यो तथ्यांकमा रगत लिनेहरुको संख्या हरेक वर्ष बढ्दो ग्राफमा छ ।

रेडक्रस पर्साले दिएको तथ्यांकअनुसार पर्साबाट आव ०७१/०७२ मा ७१६९, ०७२ /०७३ मा६९४४, ०७३ /०७४ मा ८९०९, ०७४ /०७५ मा ११२०४, ०७५ /०७६ मा १११०९, ०७६ /०७७ मा ११६०६, ०७७ /०७८ मा ११३८५, ०७८ /०७९ मा १६९८८, र ०७९ /०८० मा १९१०८ जनालाई रगत वितरण गरिएको रेडक्रस पर्साका सभापति बिरेन्द्रराज कँडेलले बताउँछन् । उनका अनुसार पछिल्ला समय हरेक वर्ष रगत लिनको संख्या बढ्दोतरी हुँदै गइरहेको तथ्यांकबाट देखिन्छ ।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले वीरगञ्जमा गर्मीको समयमा अत्याधिक रगतको माग हुने गरेको जानकारी दिए । उनका अनुसार नगरमा अहिले दिनँहु ७०–९० युनिट रगत खपत हुने गरेको छ ।

रगत दिने भन्दा लिनेको संख्या बढी

वीरगञ्ज ब्लड बैंकले उपलब्ध गराएको तथ्यांकमा रगत दिनेको संख्या भन्दा बढी लिनेहरुको रहको पाइएको छ । ब्लड बैंकको ९ वर्षे तथ्यांकलाई केलाएर हेर्दा रगत दिनेहरुको भन्दा लिनेहरु बढी रहेका छन् ।

वीरगञ्ज ब्लड बैंकबाट ९ वर्षमा १ लाख ४ हजार ४२२ जनाले रगत लिएका छन भने यही अवधिमा रगतदान गर्नेहरुको संख्या कुल ९४१२८ जनाको मात्रै रहेको छ ।

अर्थात् यहाँ लिने भन्दा रगत दिनेहरुको संख्यामा कमी रहेको प्रष्टै देखिन्छ । त्यो पनि कम संख्यामा होइन १०२९४ जना कमले रगत दिएको तथ्यांक देखिन्छ । त्यसका बाबजुद पनि ब्लड बैंकले स्रोत साधन, प्रविधि र जनशक्तिले भ्याएसम्म सेवाग्राहीलाई रगत उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

किन ‘ब्लड’ बैंक नै ?

उनीजस्तै धेरैलाई आफन्तको जीवन बचाउनका लागि रगत लिन लाईनमा लाग्नेहरुको ताँती वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ मा देख्न सकिन्छ ।विरामीलाई रगत आवश्यकता पर्दा अस्पतालका चिकित्सकले आफन्तलाई ब्लड लिएर आउन भन्छन् । त्यसपछि विरामीका आफन्तजन रगतको व्यावस्थापनमा जुट्छन । त्यसको लागि जो सुकैलाई पुग्नुपर्ने हुन्छ वीरगञ्जको नारायणी अस्पतालसंगै रहेको रेडक्रस पर्साको ‘ब्लड’ बैंक शाखा ।

कारण–सबैको ‘माइन्ड’मा हुन्छ ब्लड बैंकमा पुगेपछि रगत पाइन्छ । किनकी ब्लड बैंकले रक्तदानका कार्यक्रम गरेर रगत संकलन गरेको हुन्छ । त्यसकारण नै होला यहाँ रगत लिनेहरुको ताँती रहन्छ ।

वीरगञ्ज –२ छपकैयामा नेपाल रेडक्रस सोसाइटी २०३४ सालदेखि स्थापना भएको छ । ब्लड बैंकले ४६ वर्षदेखि सेवा दिदैँ आएको भएतापनि अभिलेख भने राख्ने गरेको थिएन । ब्लड बैंकका अनुसार ०७१ सालदेखि नै अभिलेख राख्न सुरु गरिएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban