वीरगञ्ज सदभाव र्‍यालीको सिडिओ कार्यालयमा ज्ञापन : धार्मिक सदभाव बिगार्ने जोसुकैलाई कारबाही होस

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
३४४ पाठक संख्या


वीरगञ्ज ।

धार्मिक सहिष्णुता कायम रहोस भन्दै वीरगञ्जमा धार्मिक सदभाव र्‍याली निकालिएको छ । धार्मिक सदभाव खलबलिने सम्भावना बढेपछि महानगरको अगुवाइमा सदभाव र्‍याली निकालिएको हो ।

आर्दशनगरमा रहेको स्वीमिङ्गपुलबाट निकालिएको सदभाव र्‍याली आदर्शनगर,माइस्थान,घण्टाघर चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । सिडिओ कार्यालयमा पुगेको र्‍यालीले सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साललाई ज्ञापन पत्र बुझाएको थियो ।

र्‍यालीले ज्ञापनपत्र बुझाउँदै भनेको छ-‘पछिल्लो समय धार्मिक द्वन्द्व बढाउने, सदभाव बिगार्ने काम भइरहेको छ, त्यसकारण यस्ता गतिविधि गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’

ज्ञापनमा लेखिएको छ-‘ वीरगञ्जमा सदियौंदेखी हिन्दु र मुस्लीमबिच आपसी सद्भाव र भाईचारा रहिआएकोमा केहि समयदेखी दुवै समुदायका चाडपर्व, सभा, जुलुस तथा जात्रामा दुवै धर्मावलम्बीका केहि सिमित व्यक्तिहरुबाट आपसी सद्भाव र भाईचारा विथोल्ने गरी धार्मिक सहिष्णुता विरुद्द अवाञ्छीत गतिविधि गर्ने क्रम बढ्दै गएको, समाजमा रहेको अमनचयन र शान्ती भंग गर्न क्रियाशिल त्यस्ता उच्छृङखल व्यक्तिहरुले सामाजिक संजालको दुरुपयोग गरी समाजलाई भड्काउने, विभाजीत गर्ने र कुनै धर्म तथा समुदायलाई उक्साउने र धार्मिक द्वन्द्व बढाउने खालका श्रब्य दृष्य सामग्रीसमेत पोष्ट गरीरहेकोले त्यस्ता व्यक्ति वा समुहविरुद्ध साईबर अपराध तथा कडा कानुनी कारबाहीको लागि माग गर्दछौं ।’

ज्ञापन पत्र बुझ्दै सहायक सिडिओ लम्सालले सदभाव बिगार्ने जोसुकैलाई नछाडिने बताए । गलत गर्ने जो कोहीलाई कानुन अनुसार कारबाही गर्नबाट प्रशासन पछाडि नहट्ने उनको प्रतिबद्धता थियो ।

सर्लाहीको मलंगवा मूर्ति सेलाउन क्रममा दुई समूदायबीच विवाद भएको थियो । त्यही विवादका दोषीको कारबाहीको माग गर्दै बीरगन्जमा पनि शनिबार बीरगन्ज हिन्दू समाजको आह्वानमा प्रदर्शन तथा बजार बन्द भएको थियो ।

वीरगञ्जमा पनि दुई समूदायबीच विवाद चर्किने सम्भावना बढेपछि त्यसलाई निरुत्साहित पार्नका लागि महानगरले सदभाव र्‍याली निकालिएको महानगरपालिकाको तर्क छ ।

सदभाव र्‍यालीमा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, राजनीतिक दलका नेता, महानगरपालिकाका कर्मचारी, शिक्षक-शिक्षिका,नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी लगायतका सहभागीता थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban