वीरगञ्ज बाल सुधार गृहको दुरावस्था सुधार गर्न मानव अधिकारकर्मीको आग्रह

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
३५५ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा विद्यमान दुरावस्था सुधार गर्न मानवअधिकारकर्मीहरूले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।सुधार गृहमा खाना, पानी, शौचालय, औषधी उपचार लगायतमा उचित व्यवस्थापन नहुँदा त्यहाँ रहेका बालकैदीहरूले विभिन्न सास्ती खेप्न बाध्य भइरहेको भन्दै मानव अधिकारीकर्मीहरूले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

स्वतन्त्र मानव अधिकार समाजको टोली बाल सुधार गृहमा अनुगमन गर्न पुग्दा त्यहाँ रहेका बालकैदीहरूका लागि उपलब्ध सुत्ने कोठाको अभाव भएको, एउटै कोठामा १४ जनासम्मलाई कोचेर राखिएको, उपलब्ध खाना र खाजा गुणस्तरहीन भएको, सुत्ने कोठामा पङ्खाको कमी भएको, औषधी उपचारमा पनि लापरबाही गरिएको, पुस्तकालय र खेलकुदका सामग्री उपलब्ध नगराइएको लगायतका समस्या देखिएको समाजका केन्द्रीय अध्यक्ष कृष्णकुमार खनालले बताए ।

बाल सुधार गृहका समस्या समाधानका लागि सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समाजको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साललाई लिखित रूपमा ध्यानाकर्षण गराएको खनालले बताए ।

यसका साथै सुधार गृहमा नियमित विद्युतीय आपूर्तिका लागि जेनरेटरको व्यवस्था गर्न, खानेपानीको उचित प्रबन्ध मिलाउन, कोठाहरूमा पङ्खा थप्न, समय समयमा स्थानीय प्रशासनको तर्फबाट अनुगमन गर्न र त्यहाँ सुरक्षारत नौ जना प्रहरीका लागि छुट्टै मेस सञ्चालन गर्न पनि आग्रह गरिएको समाजका महासचिव दिपक साहले जानकारी गराए ।

साहका अनुसार सुधार गृहमा रहेका एक सय ३१ जना बालकैदीहरूलाई आठ वटा मात्र कोठामा राखिएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालयमा गएको टोलीमा समाजका अध्यक्ष खनाल र महासचिव साहसँगै उपाध्यक्ष नन्द किशोर यादव, केन्द्रीय सदस्यहरू सोनालाल गुप्ता, लालबाबु गुप्ता, निर्मला कुशवाहा, नन्दिनी गुप्तालगायतकोपनि सहभागिता रहेको थियो ।

वीरगञ्जको बाल सुधार गृहमा गत भदौ २६ गते त्यहाँ रहेका बालकैदीहरूबिच विवाद भई झडप हुँदा ११ जना बालकैदी र तिन जना प्रहरी घाइते भएका थिए । दुई समूहबिच भएको झडपका कारण गृहमा करोडौँको क्षति भएको त्यहाँको प्रशासनले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban