

वीरगञ्ज ।
वीरगञ्जको सरसफाइमा यहाँ सञ्चालनमा रहेका विभिन्न बैङ्कका शाखाहरू नै बाधक बनेका छन् । आदर्शनगर क्षेत्रमा रहेका अधिकांश बैङ्कका शाखाहरूले राम्ररी फोहर व्यवस्थापन सरसफाइ चुनौतीपूर्ण बन्दै गएको छ ।
वीरगञ्ज महानगरपालिकाले नगर हरियाली तथा सरसफाइ गर्ने अभियान चलाइरहेको समयमा बैङ्कहरू भने सडकमा जथाभाबी फोहोर फाल्ने गरेको महानगरका सरसफाइ तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।
यसै क्रममा वीरगञ्जको आदर्शनगर चोकस्थित सिद्धार्थ बैङ्क लिमिटेडले सडकमा फोहर फालिएको भेटिएको छ । बैङ्कले सडकमै जथाभाबी फोहोर फालेको भेटिएपछि जरिवाना गरिएको छ । सरसफाइ संयोजक खेतानका अनुसार बैङ्कलाई १० हजार रुपैयाँ जरिबाना गरिएको हो ।
वीरगञ्जलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै सम्भव रहेकाले यसलाई अटेर गर्दै फोहोर गरेको भेटिएपछि बैङ्कलाई कारबाही स्वरूप जरिबाना गरिएको खेतानले बताए । भविष्यमा बैङ्कले गल्ती दोहोर्याए पुनः जरिवाना गरिने चेतावनी पनि दिए ।
महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाइलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् । उनले चलाएको अभियान पश्चात् अहिले वीरगञ्ज धेरै सफा देखिएको छ । फोहर व्यवस्थापनका लागि महानगरले प्रत्येक वडामा दिनमा कम्तीमा पनि दुई पटकसम्म फोहर सङ्कलन गर्नका निमित्त ट्र्याक्टर पठाउने गरेको छ ।





Write your Comment