वडाध्यक्ष कप फूटबल: मौवादेवी सेमिफाइनलमा प्रवेश

रातोघर

 २०८० आश्विन २४, बुधबार  मा प्रकाशित
४१८ पाठक संख्या


सिमरा।

फ्रेण्ड्स युवा क्लब बकुलियालाई टाईब्रेकरमा पराजित गर्दै मौवादेवी युवा क्लब बडहर्वा जीतपुरसिमरा १६ मा जारी प्रथम वडाध्यक्ष कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डकाहा खेल मैदानमा मंगलबार भएको खेलमा बकुलियालाई ४-२ ले पराजित गर्दै बडहर्वा अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १-१ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । खेलमा बकुलियाविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा बडहर्वाले जितका लागि टाइब्रेकरसम्म संघर्ष गर्नुपर्यो । खेलको पहिलो हाफमा अभिनाश महतोले गोल गर्दै बहडर्वालाई अग्रता दिलाएका थिए । बकुलियाले बडहर्वाविरुद्धको अग्रतालाई दोस्रो हाफमा बराबरी गरेको थियो ।

टाईब्रेकरमा बडहर्वाको जितमा उत्कृष्ट खेल पस्किएका गोलरक्षक युनेश चौधरी म्यान अफ दि म्याच घोषित भए । चौधरीलाई प्रतियोगिता संयोजक मोहनबहादुर आलेले म्यान अफ दि म्याचको ट्रफि प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधवार ओझेल युवा क्लब टांगियाबस्ती र वीरगन्ज सिटी क्लबबीच खेल हुनेछ । जतिपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को कार्यालयको सहयोगमा मित्र युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban