धान नफलेपछि निजगढका किसानलाई हातमुख जोड्ने चिन्ता

रातोघर

 २०८० आश्विन २८, आईतबार  मा प्रकाशित
२९१ पाठक संख्या


बारा ।

ऋण गरेर रोपको धानको बोटमा बाला नलगेपछि बाराको निजगढका किसानलाई यतिबेला हातमुख जोडने चिन्ताले सताउन थालेको छ ।फल्ला र वर्षभरि खाउला भन्ने आशामा रोपेको डेल्टा रानी जातको धानको बोटमा एउटा पनि बाला नलागेपछि निजगढ नगरपालिका वडा नम्बर ९ का किसान यस्तो समस्यामा पिरोलिन थालेका हुन ।

‘वर्षभरि खाउला र घर खर्चसमेत चलाउला भनेर रोपेको धानको बोट ‘थारो’ बस्यो, निजगढ ९ अस्पताल टोलका किसान केदार खत्रीले भन्नुभयो, अब लालाबालालाई के ख्वायाएर पाल्ने र बचाउने भन्ने चिन्ता छ । ’ उहाँले अर्काको साडे सात कठ्ठा खेत हुण्डामा लिएर भारतीय कम्पनीको डेल्टा रानी जातको धानको बिउ रोप्नुभएको थियो ।

उहाँले धान रोप्ने मल, बिउ, खनजोत र गोडमेलसमेत गरेर प्रतिकठ्ठा ४ हजारभन्दा बढी रकम खर्च भएको पनि सुनाउनुभयो । हुण्डामा लिएको जमिनमा साहुसंग ऋण काढेर रोपेको धान नफेलपछि हुण्डाको पैसा तिर्न फेरि ऋण गर्नुपर्ने अवस्था आएको बताउदै उहाँले पीडित किसानलाई नगरपालिकाले सहयोग गर्नुपर्ने माग पनि गर्नुभएको छ ।

‘नगरपालिकाले सहयोग गर्नुपर्छ, उहाँले भन्नुभयो, नत्र किसान भोकभोकै मर्ने अवस्थामा पुग्नेछन ।’खत्रीसंगै मात्रै होइनन् डेल्टा रानी बिउ रोपेका निजगढका दर्जनौं किसान यतिबेला उस्तै चिन्तामा छन ।

निजगढ वडा नम्बर ९ मा मात्रै १ दर्जनभन्दा बढी किसानले बिघौं जमिनमा रोपेको सो जातको धानमा बाला लागेको छैन । बिउ वितरकले अन्य जातको भन्दा बढी उत्पादन दिन्छ भनेपछि आफूहरुले डेल्डा रानी जातको बिउ खरिद गरेर धान रोपेको र अहिले एक दाना पनि नफलेपछि आफू पनि समस्यामा परेको अर्का स्थानीय किसान चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले डेल्टा रानी जातको बिउ रोपका मध्ये एक दर्जन भन्दा बढी किसानको खेतमा धान नफलेको भन्दै वडा कार्यालयमा गुनासो लिएर आएको बताउनुभयो । उहाँले नगरपालिका कार्यालयले धान नफलेर पीडित बनेका किसानहरुलाई राहत उपलब्ध गराउने बारेमा छलफल गरेर निर्णय गरिने पनि जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban