

सिमरा ।
बाराको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानाका श्रवण दृष्टिबिहिन विद्यार्थीलाई जनजागरण युवा क्लब JJYC कलैयाले ‘हियरिङ एड’ सहयोग गरेको छ ।
भिएसओ को आर्थिक सहयोगमा संचालित सहयात्रा परियोजना अन्तर्गत जेजेवाइसीले विद्यार्थीहरुका लागि विभिन्न सहयोग गर्ने क्रममा दृष्टिबिहिन एवं सुस्त श्रवण शक्ति भएका विद्यार्थी अरुण कुमार चौधरीलाई हिएयरिङ एड उपलब्ध गराएको हो ।
प्रेरणा नेपालका अपाङ्गता तथा समावेशीकरण संयोजक राजु लामाले विद्यालयमा आई सो यन्त्र हस्तान्तरण गर्नु भएको थियो । बारागढी गाउँपालिका १ का विद्यार्थी चौधरी नेरामावी डुमरवानाको दृष्टिविहीन छात्राबासमा बसेर कक्षा ५ मा अध्ययनरत छन् ।
श्रवण दृष्टिविहीन विद्यार्थी चौधरीलाई यन्त्र हस्तान्तरण गर्नु अघि प्रेरणा नेपालका अपाङ्गता तथा समावेशीकरण संयोजक लामाकै पहलमा कान रोग विशेषज्ञ चिकीत्सकद्वारा परिक्षण तथा उपचार गरी चिकीत्सककै परामर्श अनुरुपको यन्त्र हस्तान्तरण गरिएको हो ।
श्रवण शक्ति समेत कमजोर हुँदै गएपछि समस्यामा परेका दृष्टिविहीन विद्यार्थी चौधरीले जेजेवाईसीको सहयोगले आँफूलाई पठनपाठनमा सहज हुने भन्दै कृतज्ञता ब्यक्त गरे । जेजेवाईसीले यस अघि पनि नेरामावि डुमरवानाका विद्यार्थीहरुलाई पाठ्य सामग्री तथा विभिन्न भौतिक सामग्रीहरु सहयोग गर्दै आएको विद्यालयले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरदचन्द्र भट्टराई, सहायक प्रधानाध्यापक पंकज विश्वकर्मा, दृष्टिबिहिन श्रोत शिक्षक प्रीति साह, आनन्दी प्रसाद चौधरी, मिरा चौधरी लगायतको उपस्थिती रहेको थियो ।






Write your Comment