सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब ऋण लिँदै नेपाल

रातोघर

 २०८० कार्तिक १४, मंगलबार  मा प्रकाशित
३०९ पाठक संख्या


वीरगञ्ज ।

नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

मङ्गलवार अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थ सचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैङ्कका नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडिबीबाट भएको अतिरिक्त वित्तीय लगानी हो । कूल तीन सय २४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ । प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र सङ्घीयता कार्यान्वयनलाई सघाउने अर्थ सचिव पुष्करले विश्वास व्यक्त गरे ।

‘ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सबलीकरणसँगै यो परियोजनाले सङ्घीयता कार्यान्वयनमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ अर्थ सचिव पुष्करले भने, ‘बाढी पहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।’

एडिबीका देशीय निर्देशक आर्नोड काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए । सडक मर्मत सम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका यो  काम  आयोजनामार्फत गरिनेछन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban