जगदम्बा स्टीलको कर्तुत : कवाडी बटुलेर फलामे छड, उच्च गुणस्तरको भन्दै उपभोक्ता ठग्दै

रातोघर

 २०८० पौष १७, मंगलबार  मा प्रकाशित
९७१ पाठक संख्या


सिमरा ।

जगदम्बा स्टीलद्वारा उत्पिादित छडहरु गुणस्तरहीन ठहरिएपछि पटक–पटक कारबाहीमा परेको विषय नौलो होइन । तर बारम्बारको चेतावनी तथा कारबाहीले पनि जगदम्ब स्टीलको उत्पादन त्यस्तै गुणस्तरहीन र प्रयोग गरिएको छोटो अवधिमै समस्या आउने गरेका पाइएको छ ।

विशेषगरी प्राइम ब्लेडको प्रयोग गरेर छड उत्पादन गरिन्छ । यो भनेको नयाँ फलामबाट बनाइने सामग्री हो । तर जगदम्बाले उत्पादन गर्ने गरेको छडमा पटक पटक समस्या देखिएपछि हाम्रो एउटा विशेष स्रोतसहितको टोली सिमरास्थित जगदम्बाको कारखाना पुग्यो । जब टोली कारखानामा प्रवेश गर्यो, छड उत्पादनका निमित्त कच्चा पदार्थका रुपमा त्यहाँ उच्च क्वालिटीका प्राइम ब्लेड अर्थात नयाँ फलामका हुनुपर्नेमा कवाडी फलाम थुप्रिएको थियो ।

त्यसपछि हामी निष्कर्षमा पुग्यौं कि, कवाडी फलामबाट छड उत्पादन गरिएका कारण जगदम्बाका छडहरु कम्जोर र गुणस्तरहीन भएको रहेछन् ।

कवाडी फलामका टुक्रा कसरी पुग्छ जगदम्बासम्म

फालिएका फलामलाई गुणस्तरहीन मानिन्छ । यो बजारमा अत्यन्तै सस्तो पर्न जान्छ । कवाडी फलाममा जस्ताका टुक्रादेखि, खिया लागेर काम नलाग्ने फलामको कराहीसम्म हुन्छन् । यी फलामका टुक्राहरु संकलनकर्ताहरु घरघरमा पुगेर संकलन गर्छन् । घरघरबाट संकलन गरिएको फलामको टुक्रा संकलन केन्द्रले एजेन्टमार्फत जगदम्बा कम्पनीलाई बिक्री गर्ने गरेको खुल्यो । सहरबाट बिक्री भएको उक्त छड ट्रकमा लोड गरेर फ्याक्ट्रीमा लगिन्छ । जगदम्बाको फ्याक्ट्रीभित्र हजारौं टन यस्ता थोत्रा फलामका सामान रहेका छन् ।

जगदम्बाले प्रचारप्रसार र देखाउनका लागि भने अलग्गै किसिमको भारतबाट आयातित प्राइम ब्लेडको प्रयोगबाट बनाइएका उच्च गुणस्तरको छडलाई अघि सार्ने गरेको पाइयो । जुन सामान बजारमा भने पठाइँदैन । बजारमा बिक्री गरिएको जगदम्बाको छड बनाउन अधिकांश कवाडी फलामहरुको प्रयोग हुने गरेको पाइएको छ ।

जगदम्बा स्टिलले कवाडी अर्थात् थोत्रा फलामलाई पगालेर छड बनाउका लागि विभिन्न ठाउँमा कवाडी संकलन केन्द्रसमेत राखेको पाइएको छ । ती संकलन केन्द्रहरु अरुकै नाममा दर्ता गरिएका छन् ।

पुनः पगालेर बनाइएको सामानको आयू ७० प्रतिशत कम

पटक–पटक प्रयोग गरिसकिएको थोत्रा फलामलाई पुनः पगालेर बनाइएको सामानको आयू कम हुने विज्ञहरु बताउँछन् । इन्जीनियर सुवोध ढकालका अनुसार एकपटक प्रयोग भएका फलामजन्य सामग्रीलाई पुन प्रयोग गर्दा उसको आयू ७० प्रतिशत कम हुन्छ ।

‘पटक पटक प्रयोग गरिसकिएको र थोत्रा भएका तर फेरि पगालेर पुनः जे सामान पनि बनाइयो भने त्यसको आयु कम हुन्छ’, इन्जिनियर ढकालले भने, ‘कतिसम्म भने त्यस्तो थोत्रा कवाडीबाट बनाइएको समानको आयु ७० प्रतिशत कम हुन्छ ।’

‘जगदम्बा स्टील, देशको मेरुदण्ड’ भन्ने नारासहित उत्पादन गर्दै आएको उद्योग यसअघि पटक पटक सरकार कारबाहीमा पनि नपरेको होइन । शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टीललाई विगतका वर्षहरुमा नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको गुणस्तर परीक्षणमा जगदम्बा स्टीलको डण्डीमा कार्बन, फस्फोरस र सल्फरको मात्रा आवश्यकता भन्दा बढी भएकोले उक्त स्टील कम्पनी कारबाहीमा परेको थियो ।

कमजोर रड उत्पादन हुँदा घर, पुल, तथा अन्य कुनै पनि निर्माण छिट्टै भत्किने वा बनाउँदा बनाउँदै पनि भत्किने अवस्था रहन्छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको गुणस्तर परीक्षण अनुसार जगदम्बाको रडमा भाँच्चिने समस्या अत्याधिक रहेको पाइएको थियो । अहिले पनि उक्त समस्या ज्यूका त्युँ रहेको पाइएको हो ।

काठमाडौं महानगरपालिका–१६, खरिबोट बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टील प्रयोग गर्दा समस्या आएको छ । १६ एमएमको डण्डी बनाउने क्रममा भाँच्चिएपछि उनले जगदम्बाविरुद्ध गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाहीको माग गर्दै निवेदन दिएपछि विभागले जगदम्बाको डण्डी परीक्षण गरेको थियो । अधिकांश उपभोक्ता भने यसबारेमा जानकार छैनन् ।                                                                                                      सस्तो र फालिएका कवाडी सामान प्रयोग गरेकै कारण जगदम्बा स्टिल प्रयोग नगर्न विज्ञहरु सुझाव दिन्छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban