


बारा -आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा बारा क्षेत्र नम्बर ४ को राजनीतिक माहोल झन् तातिएको छ। युवा उम्मेदवार श्याम बाबू गुप्ताको पक्षमा चुनावी वातावरण थप मजबुत बनाउन गगन थापा भोलि दिउँसो १ बजे बारा जिल्लाको पर्सौनी मा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएको छ।
नेपाली कांग्रेस का केन्द्रीय सभापति समेत रहेका थापाको उपस्थितिलाई क्षेत्र नम्बर ४ मा महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ। बलिया प्रतिस्पर्धाका कारण राष्ट्रिय चर्चामा रहेको यस क्षेत्रमा शीर्ष नेतृत्वको प्रत्यक्ष सहभागिताले चुनावी समीकरणमा नयाँ तरङ्ग ल्याउने विश्लेषण गरिएको छ।
स्थानीय तहदेखि नै सक्रिय रूपमा सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका युवा उम्मेदवार श्याम बाबू गुप्ताको पक्षमा केन्द्रीय नेतृत्व खुला रूपमा मैदानमा उत्रिनु उनको केन्द्रीय तहसम्म राम्रो पहुँच रहेको संकेतका रूपमा समेत व्याख्या गरिएको छ।
विशेषगरी युवापुस्ता र परिवर्तनको एजेन्डालाई अघि सार्दै आएका गुप्तालाई समर्थन जनाउन शीर्ष नेताको आगमनले मतदातामाझ थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ। चुनावी माहोल निर्णायक मोडतर्फ उन्मुख भइरहेका बेला भोलिको सभा बारा क्षेत्र नम्बर ४ को राजनीतिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण कार्यक्रम बन्न सक्ने आकलन गरिएको छ




Write your Comment