


बारा ।
अन्ततः बाराको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग स्टेशन राख्ने योजना पुरा भएको छ ।
लामो समयदेखि एयरपोर्ट व्यवस्थापन, उद्योगी व्यवसायि, स्थानीय तहको प्रयासले सार्थकता पाएको हो ।
विमानस्थलमा ATF (Aviation Turbine Fuel) को सेवा विस्तार गर्ने उद्देश्य सहित नेपाल आयल निगम लिमिटेड र सिमरा नागरिक उड्डयन कार्यालय बीच हवाई इन्धन भण्डारण तथा कार्यालय सञ्चालनको सम्झौता भएसँगै इन्धन रिफ्यूलिङ्ग स्टेशन निर्माण भएको छ ।
मन्त्री रिजालले उद्घाटन गर्ने
उद्योग विणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्टेशनको शुभारम्भ तथा समुद्घाटन गर्न आउने भएका छन् ।
सिमरा विमनस्थलको उद्धार तथा अग्नि निवारण भवनको प्राङ्गणमा आईतबार आज अपरान्ह ३ बजे समुद्घाटन कार्यक्रम तय भएको विमानस्थल प्रबन्धक सूर्य बहादुर खत्रीले जानकारी दिए ।
लामो प्रयासको सार्थकता
विमानस्थलमा डिपो राख्नका लागि मधेस प्रदेश उद्योग वाणिज्य संघ, जीतपुरसिमरा उपमहानगरपालिकासहित सरोकारवालाले पहल गरेका थिए ।

जीतपुरसिमराका मेयर राजन पौडेलले डिपो राख्ने सम्झौताले उद्योगी, पर्यटन क्षेत्रसहित उपमहानगरपालिकाको पहल सफल भएको प्रतिक्रिया दिए । ‘यो सकारात्मक उपलब्धि हो, यसले सिमरालाइ हवाई उडानमार्फत देशका विभिन्न ठाउँमा जोड्ने अवसर हो,’ मेयर पौडेलले भने–यसले पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेल्छ ।
देशकै पुरानो विमानस्थलमध्येको एक सिमरा विमानस्थलमा हवाइ इन्धन भर्ने डिपो स्थापनाका लागि माग हुँदै आएको थियो । इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंमा मौसम र ञएयर ट्राफिकका कारण अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट हुँदै आएका थिए ।
काठमाडौंबाट छोटो दुरीमा भए पनि डिपो नहुँदा जहाज अन्यत्र पठाइने गरिएको थियो । आन्तरिक हवाइ सेवा प्रदायक संस्थाले पनि सिमरामा इन्धन भर्ने सुविधा उपलब्ध गराउन माग गर्दै आएका थिए ।







Write your Comment