


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित भेडियाहीमा रहेको श्रीराधा बेकरी सटिङ्ग रिपैकिङ्ग उद्योगमा बुधबार अखाद्य घ्यू उत्पादनको आरोपमा प्रशासनले छापा मारेको छ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले अखाद्य घ्यू उत्पादन र बिक्री वितरण भइरहेको भन्ने उजुरीको आधारमा उक्त उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी गरेको हो।
छानबिनको क्रममा उक्त उद्योगले घ्यूको नाममा अखाद्य वस्तु तथा केमिकल प्रयोग गरी बेकरि सटिङ्गलाई घ्यूको रूपमा प्याकिङ्ग गरी बिक्री वितरण गरिरहेको फेला परेको छ।
साथै, नक्कली लेबल प्रयोग गरी अखाद्य घ्यूको उत्पादन भइरहेको स्थानबाट अखाद्य वस्तु, उत्पादनमा प्रयोग गरिएका सामान र उपकरणहरूसमेत बरामद गरिएको छ। उद्योगसँग आवश्यक कागजातहरू समेत उपलब्ध गराउन नसकेपछि खाद्य तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जले उद्योगलाई शिल गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा गरिएको छापामार टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय पर्सा, वाणिज्य कार्यालय वीरगञ्ज, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रहरी कार्यालय पर्साका अधिकारी र पत्रकारहरूको सहभागिता थियो। खाद्य तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख सुरेश कुमार सिंहका अनुसार उद्योगलाई तत्कालै शिल गरेर थप अनुसन्धान थालिएको छ।







Write your Comment