प्रधानमन्त्री ओलीले भेटे जीतपुरसिमराका प्रथम मेयर स्वर्गीय पौडेलको परिवार

रातोघर

 २०८१ भाद्र २२, शनिबार  मा प्रकाशित
९६२ पाठक संख्या


सिमराः प्रधानमन्त्री केपी शर्मा ओलीले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगर प्रमुख स्वर्गीय डा। कृष्ण पौडेलको परिवारका सदस्यसंग बालुवाटारमा भेट गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार र शनिबार दुई दिन डा। पौडेलकी पत्नी शर्मिला, छोरा सुफल, छोरी सफलतासहित परिवारका अन्य सदस्यसंग भेट गरेका हुन् ।

आफूलाई भेटन शुक्रबार बालुवाटार आएका पौडेल परिवारसंग एक घण्टा कुरा गर्दै प्रधानमन्त्री ओलीले शनिबार बिहानको खाना खान आउने गरी पुनः बोलाएका थिए । आफ्नो निमन्त्रणामा शनिबार पुनः बालुवाटार आएका पौडेल परिवारसंग प्रधानमन्त्री ओलीले करिब एक घण्टा कुरा गरेका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले डा। पौडेलका छोरा र छोरीको शिक्षाको विषयमा जानकारी लिदै पारिवारिक कुराकानी गरेका थिए । प्रधानमन्त्रीले ओलीले स्वर्गीय डा। पौडेलको छोराछोरीको शिक्षा, पत्नी शर्मिलाका लागि आफूले सहयोग गर्ने बताएका छन् ।
जीतपुरसिमराका प्रथम नगर प्रमुख डा। पौडेलको २०८० असोज २५ गते हृदयघातका कारण निधन भएको थियो । पौडेलको शव जीतपुरसिमरा २ सिमरास्थित आफ्नै घरमा फेला परेको थियो ।

स्वर्गीय डा। पौडेलप्रति श्रद्धान्जली र घटनाबाट शोकाकुल बनेको परिवारलाई समवेदना व्यक्त गर्न २०८० कार्तिक १८ गते ओली डुमरवानास्थित घरमै पुगेका थिए । डा। पौडेलप्रति श्रद्धान्जली व्यक्त गर्दै ओलीले बाल्कोट आएर आफूसंग भेट्न परिवारका सदस्यलाई अनुरोध गरेका थिए । ओली त्यसबेला प्रधानमन्त्री थिएनन् ।
झण्डै एक वर्षपछि भेट्न पुगेका परिवारका सदस्यलाई प्रधानमन्त्री ओलीले दुई दिन समय दिएका हुन् । प्रधानमन्त्री ओलीले असोज पहिलो साता आफू अमेरिका जान लागेको र अमेरिकाबाट फर्किएपछि पुनः भेट गर्ने बताएका छन् ।

जीतपुरसिमराका प्रथम नगर प्रमुख डा। पौडेल नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीसंग नजिक थिए । विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गरेका पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट लोकप्रिय मतसहित जीतपुरसिमराको नगर प्रमुखमा निर्वाचित भएका थिए । डा। पौडेल सहकारी अभियन्ता समेत थिए ।

Write your Comment





suv prannath