रुपन्देही । देशभरका सरकारी संरचनामा आगजनी भइरहेका बेला लुम्बिनी प्रदेश सरकारका देउखुरीस्थित कार्यालय भने मंगलबारसम्म सुरक्षित देखिएका छन् । तर दाङ, बाँके, रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीसहितका जिल्लामा आन्दोलनकारीहरूले सरकारी तथा पार्टी कार्यालयदेखि नेताहरूको घरमा समेत आगजनी गरेका छन् ।
मंगलबार बिहानैदेखि घोराही, तुलसीपुर लगायतका ठाउँमा सरकारी तथा गैरसरकारी भवनमा आगजनी भयो । मालपोत, उच्च अदालत, आन्तरिक राजश्व, इलाका प्रशासन, नगर विकास समिति, कारागारसहितका कार्यालय जलाइए । एमाले, काँग्रेस र माओवादीका कार्यालय पनि ध्वस्त पारिएका छन् । कारागारका कैदीसमेत भगाइएको छ ।
प्रदर्शनकारीहरूले एमाले महासचिव शङ्कर पोखरेल, नेतृ कोमल वली, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, काँग्रेस नेता गेहेन्द्र गिरी, पूर्वमन्त्रीहरू हिराचन्द्र केसी र दीपक गिरीलगायतका घरमा तोडफोड र आगजनी गरेका छन् ।सुरुवातमा शान्तिपूर्ण देखिएको आन्दोलन दिउँसोपछि हजारौँको सहभागितासहित हिंसात्मक बन्यो । घोराही र तुलसीपुरमा सरकारी तथा राजनीतिक भवन खरानी हुँदा पनि देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रीहरूको कार्यालय सुरक्षित रह्यो ।
अपरान्हतिर युवाहरूले देउखुरीस्थित प्रदेश सभा भवन र मुख्यमन्त्री कार्यालय परिसर प्रवेश गरी तालाबन्दी गर्दै कार्यालय कब्जामा भएको घोषणा गरे । तर अन्य स्थानझैँ उनीहरूले भवनमा आगो लगाएनन् ।
पत्रकार ओमप्रकाश गुप्ताका अनुसार राजधानी अपायक स्थानमा भएकाले यहाँ ठूलो संख्यामा आन्दोलनकारी पुग्न सकेनन् । रुपन्देही, बाँके, कपिलवस्तु, प्यूठान, अर्घाखाँची वा दाङकै घोराही–तुलसीपुरबाट पनि देउखुरी आउन दुई–तीन घण्टा लाग्ने भएकाले प्रदर्शन सिमित देखिएको हो ।
आन्दोलनकारीले भालुवाङस्थित कृष्णसेनको शालिक भत्काएर सो क्षेत्र कब्जामा रहेको घोषणा पनि गरेका छन् ।
०७७ सालमा स्थायी राजधानी घोषणा भइसकेपछि देउखुरीमा अर्बौं रुपैयाँ लगानीमा बनेका प्रदेश सरकारका संरचना यसपटक जोगिएका छन् । तर प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी (रुपन्देही), डिल्ली चौधरी (तुलसीपुर), मन्त्री भूमिश्वर ढकाल र भोजप्रसाद श्रेष्ठलगायत नेताका घर तथा गाडी भने आन्दोलनकारीको निशानामा परे ।
Write your Comment