कैलाली । जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम प्रदेशका बाजुराबाहेकका सबै जिल्ला कारागारबाट कैदीबन्दी फरार भएका छन् । करिब १४ सय कैदी कारागार तोडेर निस्किएका मध्ये केही पुनः आपराधिक गतिविधिमा संलग्न भएको तथ्य सार्वजनिक भएको छ ।
सबैभन्दा बढी कैलाली कारागारबाट ६१८ जना र कञ्चनपुर कारागारबाट ३५८ जना फरार भएका थिए । कञ्चनपुरका ४७९ कैदीमध्ये २१ जना मात्र बाँकी रहेकामा फरारमध्येका एक दीपक सुनार फेरि बलात्कार प्रयासको अभियोगमा स्थानीयको सहयोगमा पक्राउ परेका छन् । सुनारलाई कारागार भुक्तानकै क्रममा सजाय तोकिएको बलात्कार मुद्दामा नौ वर्षकै कैदी रहेकामा भागेको भोलिपल्टै फेरि पक्राउ पर्नु परेको हो ।
यस्तै, कैलाली कारागारबाट भागेका ६ जनालाई इलाका प्रहरी कार्यालय टिकापुरले हिजोआज पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४ जना लागू औषध, एक जनामाथि बलात्कार र अर्कामाथि चोरीको आरोप लागेको प्रहरीले जनाएको छ ।
हालसम्म ७७ जना कैदी आफैँ वा प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काइएका छन् । बाँकी कैदीलाई समात्न प्रहरीले चेकजाँच कडाइ गर्दै भारतीय सीमा नाकामा समेत निगरानी बढाएको छ ।
जिल्ला कारागार कैलालीका जेलर चिरञ्जीवी सापकोटाले फरार कैदीलाई सम्पर्कमा आउन सूचना जारी गर्न लागिएको जनाउँदै, नआए फरार सूचीमा राखी पक्राउ प्रक्रिया अघि बढाइने जानकारी दिए ।
Write your Comment