हेटौंडा । जेन्जी समूहले गरेको आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंका विभिन्न जेल तोडफोड हुँदा १० भारतीय नागरिक र एक बंगलादेशी कैदी नेपाल–भारत सीमा हुँदै भागेको खुलासा भएको छ ।
लागुऔषध, हत्या र सुन तस्करीको मुद्दामा सजाय भोगिरहेका १० जना भारतीय कैदी वीरगंज–रक्सौल आसपासका ग्रामीण भेगबाट भारत प्रवेश गरी घर पुगेको पाइएको छ । उनीहरूमध्ये एक जना रक्सौल परेउंवाका हुन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूको रेकर्ड समेत राखेको जनाएको छ ।
यसैबीच, ५ वर्षअघि सुन तस्करीको मुद्दामा जेल सजाय पाएका बंगलादेशी नागरिक मोहम्मद अब्दल हसन थाली भने रक्सौल नाकामा पक्राउ परेका छन् । काठमाडौं कारागारबाट भागेर बंगलादेश फर्कने तयारीमा रहेका उनलाई एसएसबीको ४७ औं बटालियनले नियमित चेकजाँचका क्रममा नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी गरेको हो ।
जेन्जी आन्दोलन रोकिए पनि नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरी चौकीहरू जलाइएपछि सुरक्षा शून्य बनेको र सोही अवसरमा कैदीबन्दीहरू सहजै भारत छिरेको तथ्य सार्वजनिक भएको छ । वीरगंजकै चाण्डालचोकस्थित अस्थायी प्रहरी पोष्ट जलाइएपछि भारत प्रवेश झनै सहज भएको बताइएको छ ।
Write your Comment