


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज दिउँसो हुने त्रिपक्षीय राजनीतिक छलफलमा राजनीतिक दलका १६ जना र जेनजी समूहका १४ जना प्रतिनिधि सहभागी हुने भएका छन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी र दोस्रो तहका नेताहरू सहभागी हुने यस छलफललाई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका तयारी र राजनीतिक सहमति निर्माणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ।
प्रधानमन्त्रीका तर्फबाट छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिएका छन्।जेनजी समूहका तर्फबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलायन्स’ का प्रतिनिधिहरू गरी १४ जना सहभागी हुने जनाइएको छ।
राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले)बाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलको कार्यसूचीमा आगामी निर्वाचनको वातावरण निर्माण, राजनीतिक समझदारी विस्तार र सर्वदलीय सहकार्यका सम्भावना जस्ता विषय समावेश छन्।
सरकारले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सरोकारवाला पक्षहरूसँग चरणबद्ध वार्ता र संवाद प्रक्रिया अघि बढाएको छ। यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्की र राजनीतिक दलबीच छलफल भएको थियो भने, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच पनि वार्ता सम्पन्न भइसकेको छ।







Write your Comment